sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

आठ वर्षमा आधा घट्यो विद्युत् चुहावट

२७ साउन २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पछिल्लो आठ वर्षमा प्रसारण तथा वितरण प्रणालीमार्फत भइरहेको विद्युत् चुहावटलाई आधा घटाएको छ । आर्थिक वर्ष २०७२/७३ मा प्रणालीबाट २५ दशमलव ७८ प्रतिशत भइरहेको विद्युत् चुहावटलाई यस अवधिमा आधा घटाएर गत आव २०८०/८१ मा १२ दशमलव ७३ प्रतिशतमा सीमित गरिएको छ ।

विद्युत् चुहावटमध्ये प्रसारण लाइनतर्फ तीन दशमलव ३३ प्रतिशत र वितरणतर्फ नौ दशमलव ४० प्रतिशत रहेको छ । आठ वर्षअघि २५ दशमलव ७८ प्रतिशत चुहावटमध्ये १९ दशमलव ८० प्रतिशत वितरण र बाँकी प्रसारणतर्फ थियो । विद्युत् चुहावटलाई आव २०७३/७४ मा २२ दशमलव ९० प्रतिशत, २०७४/७५ मा २० दशमलव ४५ प्रतिशत, २०७५/७६ मा १५ दशमलव ३२ प्रतिशत र २०७६र७७ मा १५ दशमलव २७ प्रतिशतमा झारिएको थियो। आव २०७७र७८ मा भने चुहावट बढेर १७ दशमलव १८ प्रतिशत पुगेको थियो ।

त्यसपछि चुहावटलाई आव २०७८/७९ मा १५ दशमलव ३८ र आव २०७९र८० मा १३ दशमलव ४६ प्रतिशतमा झारिएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई थप व्यवस्थित र प्रभावकारी बनाएर आठ वर्षको अवधिमा चुहावट नियन्त्रणमा सफलता हासिल गरेको बताए । कार्यकारी निर्देशक घिसिङले ‘लोडसेडिङ’ अन्त्य भई नियमित विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमले वितरणतर्फको विद्युत् चुहावट नियन्त्रणमा सकारात्मक प्रभाव परेको उल्लेख गरे ।

चुहावट नियन्त्रणबाट मात्र यस अवधिमा प्रतिवर्ष करिब रु १२ अर्ब थप आम्दानी भएको छ। नाफाबाट आर्जन भएको रकमलाई प्रणाली विस्तार र सुधारमा लगानी गरिरहेको प्राधिकरणको भनाइ छ । आर्थिक वर्ष २०७२/७३ मा रु आठ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरणले आव ०७३/७४ मा रु एक अर्ब ५० करोड खुद नाफा कमाएको थियो। त्यसपछि निरन्तर नाफामा रहेको प्राधिकरणको नाफा गत आवमा रु १३ अर्ब ३१ करोड (अन्तिम लेखापरीक्षण हुन बाँकी) पुगेको छ । आठ वर्षअघि रु ३४ अर्ब ६१ करोड सञ्चित घाटामा रहेको प्राधिकरण गत आवमा रु ४७ अर्ब ४१ करोड सञ्चित नाफामा पुगेको छ ।

प्राधिकरणले आफ्ना हरेक वितरण केन्द्रहरुलाई प्रत्येक वर्ष चुहावट नियन्त्रणको लक्ष्य दिई सोहीअनुसार क्रियाकलापहरु सञ्चालन गरिरहेको जनाएको छ ।

 

यो पनि पढ्नुहोस्