मेयर विहिन धरान, कामकाज कसरी अगाडि बढ्छ ?
काठमाडाैं । मेयर हर्क सामपाङ र उपमेयर आइन्द्रविक्रम बेघाको सम्बन्ध चिसिँदा धरान उपमहानगरपालिका अहिले चर्चा र विवादमा छ । मेयर सामपाङ अहिले बेलायत भ्रमणमा हुँदा उपमहानगर मेयरविहीन छ । सामपाङले वडाध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएपछि त्यसलाई अदालतले खारेज गरिदिएपछि उपमहानगर मेयरविहीन भएको हो ।
सुनसरीको धरान उपमहानगरपालिका यतिबेला मेयर विहिन बनेको छ । मेयर हर्क साम्पाङ व्यक्तिगत भ्रमणमा बेलायत गएपछि धरान मेयर विहिन बनेको हो । बेलायत भ्रमणमा जानुअघि मेयर साम्पाङ्ले उपमेयर आइन्द्रविक्रम बेघालाई कार्यवाहक मेयरको जिम्मेवारी दिनुको सट्टा ११ नम्बर वडाका अध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहक तोकेका थिए । उनले कार्यवाहक मेयर तोकेको लिखित पत्र सोमवार विराटनगरस्थित उच्च अदालतको उत्प्रेषणयुक्त परमादेशले औचित्यविहिन बनाईदिएपछि उपमहानगरपालिका मेयर विहिन बनेको हो । अदालतको आदेशले वडाध्यक्षलाई कार्यवहाक मेयर तोकेर दिएको पत्र कागजको टुक्रामा परिणत भएको हो ।
मेयर साम्पाङले धरान–११ का वडाध्यक्ष लोकेन्द्र फागोलाई असोज २३ गते नै अधिकार प्रत्यायोजन गरी कार्यवाहक मेयर तोकेर पत्र दिएका थिए । तर, उनी २८ गतेमात्र धरान छाडेर बेलायत यात्रामा निस्केका थिए । उपमेयर हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक मेयर ताकेपछि विवादित बनेका मेयर साम्पाङ लगायतलाई विपक्षी बनाएर उपमेयर अइन्द्रविक्रम बेघाले उच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिट दायर पछि उच्च अदालतले परमादेश जारी गर्दै ‘धरान उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट लेखिएको च.नं. २३२८ असोज २३ गतेको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्नू भनी विपक्षीहरूका नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको’ उल्लेख गरेको छ ।
उपमेयर बेघाले गत शुक्रबार दायर गरेको रिटमा उच्च अदालतले कार्यवाहक प्रमुखको जिम्मेवारी दिएको पत्र खारेज गर्दै उत्प्रेषणको अन्तरिम आदेश सहित कारण देखाऊ आदेश जारी गरेको हो । अदालतले उक्त पत्र खारेज गरेपनि उपमेयर बेघालाई कार्यवाहक मेयर तोकेको छैन् । यसकारण पनि धरान मेयर विहिन बनेको छ ।
उपमेयर बेघाले दायर गरेको रिटमा सुनवाइ गर्न अदालतले कात्तिक २३ गते पेशी तोकेको छ । उपमहानगरले भने मेयर विहिन भएको भन्दै बुधवार छलफलका लागि बोलाएको छ । उता मेयर साम्पाङ असोज २८ देखि औपचारिक बिदामा छन् । उनी यतिबेला पारिवारिक भ्रमणमा व्यस्त छन् । मेयर साम्पाङले वडाध्यक्षलाई कावा तोकेर दिएको पत्रमा लेखिएको विवरण पनि विवादित रहेको दलहरुको धारणा छ । मेयर साम्पाङ पक्षले भने कावा मेयर तोक्नु मेयरको अधिकार भएको दाबी गर्दै आएका थिए ।

.gif)