आज ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस, नेपालमा पनि मनाईंदै
काठमाडौं । आज ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।
हरेक वर्ष सेप्टेम्बर ८ तारिखका दिन साक्षरता दिवस मनाउने गरिन्छ । यस वर्ष ’बहुभाषिक शिक्षाको प्रवर्धनः पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता’ भन्ने नारासहित अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाईंदैछ ।
सरकारले दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने गरी सञ्चालन गरेको राष्ट्रिय साक्षरता अभियान १६ वर्ष बित्दा पनि पूरा भएको छैन । सरकारले २०६५ सालमा अभियानको शुरुवात गरेको थियो । त्यसयता हरेक वर्ष अभियान सञ्चालन हुँदै आएको छ ।
डेढ दशकमा झन्डै १२ अर्ब रुपैयाँ खर्च भइसकेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रकाअनुसार नेपालमा अहिलेसम्म ६४ वटा जिल्ला साक्षर घोषणा भएका छन् । अब १३ वटा जिल्ला घोषणा हुन बाँकी छन् ।
ती जिल्लासमेत साक्षर घोषणाको तयारीमा रहेको केन्द्रको अनौपचारिक तथा वैकल्पिक शिक्षा शाखाका निर्देशक नीलकण्ठ ढकालले दिए । बागमती, गण्डकी र कोशीबाहेकका प्रदेश साक्षर घोषणा हुन बाँकी नै छन् ।
घोषणा हुन बाँकीमा मधेस प्रदेशका सबै जिल्ला : सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा रहेका छन् । त्यस्तै कर्णाली प्रदेशका मुगु जुम्ला, हुम्ला, कालिकोट र डोल्पा रहेका छन् । अहिलेसम्म ८५ प्रतिशत जनसङ्ख्या साक्षर भएको उनको भनाइ छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अनिवार्य र निःशुल्क शिक्षा पाउने मौलिक हकको सूनिश्चिततासँगै विद्यालय जाने उमेरका सबै बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न र विद्यालय जाने उमेर नाघेका नागरिकलाई जीवनोपयोगी शिक्षाका अवसर जुटाउने विषय सरकारको प्राथमिकतामा रहेको बताए ।

.gif)