साउन १ देखि बर्डफ्लु देखिएको छैन : पशु सेवा विभाग
काठमाडौँ । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा पशु सेवा विभागले जनाएको छ । संघीय राजधानी काठमाडौँलगायतका विभिन्न जिल्लाहरुमा देखिएको बर्डफ्लुको सङ्क्रमण साउन १ गतेदेखि नदेखिएको हो ।
विभागका महानिर्देशक उमेश दाहालका अनुसार पछिल्लो पटक काठमाडौँको गोकर्णेश्वर–१ सुन्दरीजलमा सङ्क्रमण देखिएको थियो तर पछिल्लो समयमा भने सो स्थानमा सङ्क्रमण देखिएको छैन । उनले भने, सङ्क्रमण भएका वरपरका क्षेत्रबाट नमुना ल्याएर परीक्षणको काम भइरहेको छ । अहिले नियन्त्रित अवस्थामा छ । बर्डफ्लु देखिएका क्षेत्रको वरिपरिका नमुना ल्याएर परीक्षण गर्दैछौँ ।
विभागमा प्रप्त अभिलेख अनुसार चैत ४ गते केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पिसिआर विधिबाट गरिएको परीक्षणमा रोग पुष्टि भएको थियो । यससँगै चैत ६ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरिएर नियन्त्रणका लागि तत्काल पहल कदमी भएको थियो । हालसम्म ११ जिल्लामा सङ्क्रमण देखिएको छ । काठमाडौँ उपत्यका बाहेकका सात जिल्लामा रोग पूर्ण रुपमा नियन्त्रणमा आइसकेको महानिर्देशक दाहालले बताएका छन् ।
काठमाडौँ उपत्यका र काभ्रेमा मात्र ११९ स्थानमा रोग पुष्टि भएको थियो । महानिर्देशक दाहालका अनुसार प्रभावित कृषकलाई तत्काल सरकारले राहत उपलब्ध गराएको छ । रु ५० करोड बजेट रकमान्तर भई रु ५२ करोड व्यवस्थापन भएकोमा हाल सम्म १०४ जना कृषक र फर्मको खातामा रु ५० करोड ७१ लाख १५ हजार ७०४ राहत रकम निकासा गरी सकेको छ ।
काठमाडौँ उपत्यकामा मात्र ९२ स्थानमा बर्डफ्लुको सङ्क्रमण देखिएको थियो । जसमध्ये काठमाडौँमा ३२, ललितपुरको सदर चिडियाखाना गरी १५ र भक्तपुरमा ४५ ठाउँमा सङ्क्रमण देखिएको थियो । विभागका अनुसार काभ्रेपलाञ्चोकमा मात्र २७ स्थानमा सङ्क्रमण देखिएको छ ।
विभागका वरिष्ठ पशु चिकित्सक डा मुकुल उपाध्यायले नेपालभर ८ लाख ३५ हजार ५६३ वटा पन्छी नष्ट गरिएको जानकारी गराएका छन् । एघार लाख ६५ हजार ६६३ वटा अण्डा, दुई लाख ४५ हजार ३५ किलो दाना नष्ट गरिएको उनको भनाइ छ ।
काठमाडौँ उपत्यकाभित्र र काभ्रेमा मात्र तीन लाख ६७ हजार ८३५ वटा पन्छी नष्ट गरिएको उनले सुनाए । सरकारको तदारुपता र किसानको सहयोगका कारण बर्डफ्लु नियन्त्रणमा आउन सकेको र अब थप सङ्क्रमण हुने सम्भावना कम रहेको वरिष्ठ पशु चिकित्सक उपाध्यायको भनाई छ ।



















