वडाध्यक्ष बसे मुख्यमन्त्री कार्यालयमा धर्ना
सुर्खेत । सुर्खेत जिल्ला कालिमाटी गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष मित्रलाल रिजालले सडक, सञ्चार र विद्युत् सेवाजस्ता आधारभूत पूर्वाधार विस्तारको माग राख्दै कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धर्ना बसेका छन् ।
घुईयाबारी स्वामीबास बबई सडकलाई स्तरवृद्धि तथा कालोपत्रे गरिनु पर्ने, नेपाल टेलिकमको टावर निर्माण तथा गाउँमा विद्युत् विस्तारको कार्यलाई तिव्रता दिदँै काम छिटो अघि बढाउनु पर्ने माग राखेर तीनदिन देखि मुख्यमन्त्री कार्यालको अग्र स्थानमा झुल टागेर धर्नामा बसेका छन् ।
उनले स्थानीय सरकार र प्रदेश सरकारसमक्ष पटक–पटक आफ्ना वडाका समस्याका बारेमा जानकारी गराउँदा पनि सुनुवाइ नभएपछि आफू बाध्य भएर धर्नामा बस्न बाध्य भएको बताएका छन् । सो क्षेत्रका बासिन्दाले अहिले पनि सहज सडक पहुँचबाट टाढा हुनु परेको उल्लेख गर्दै उनले भनेका छन् भरपर्दो सञ्चार सेवा र नियमित विद्युत्बाट वञ्चित हुने अवस्थाको अन्त्य होस ।
वर्षायाममा सडक हिलाम्मे र अवरुद्ध हुँदा समस्या थपिएको बताउँदै उनले बिरामी ओसारपसार, खाद्यान्न ढुवानी तथा विद्यार्थीको आवतजावतमा समस्याका बारेमा प्रदेश सरकार वेखवर बनेको बताएका छन् । स्थानिय र प्रदेश सरकारले आफ्ना मागलाई सम्बोधन गर्नु पर्नेमा उनले जोड दिएका छन् ।
