अमेरिकाविरुद्ध नेपाल ‘ए’ को जीत
काठमाडौं । अमेरिकाको राष्ट्रिय टिममाथि नेपाल ‘ए’ ले सात रनको सनसनीपूर्ण जीत निकालेको छ । यससँगै चार म्याचको त्रिकोणात्मक श्रृंखला नेपालले ४–० ले क्लीन स्वीप गर्यो ।
नेपालले पहिले ब्याटिङ गर्दै २६४ रनको स्कोर खडा गरेको थियो । नेपालका लागि सन्दिप जोराले शतकीय पारी खेले । उनले ११३ बलमा १११ रन जोडेका थिए । जवाफी ब्याटिङमा अमेरिकाका सेहन जयसुर्याले कडा संघर्ष गरे पनि टिमलाई जीतसम्म डोहोर्याउन सकेनन् । अन्तिम ओभरमा जीतका लागि अमेरिकालाई ९ रनको आवश्यकता थियो भने हातमा एक विकेट मात्रै थियो । स्पिनर शेर मल्लले पहिलो बल वाइड फ्याँके ।
दोस्रो बलमा ठूलो सट लगाउने चक्करमा लङ अनमा क्याच हुन पुगे । शेर मल्लले उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट लिए । जयसूर्या ७१ रनमा आउट भए ।
नेपालले यसअघि स्कटल्यान्डलाई २ म्याचमा र अमेरिकालाई एक म्याचमा हराएको थियो ।
