एनपीएलको दोस्रो संस्करणको उपाधि भिडन्त आज हुँदै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि भिडन्त आज हुँदै छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ३ः३० बजे शुरु हुने खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधि नजिक पुगेको हो ।
लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई ४० रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । दीपेन्द्रसिंह ऐेरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधि दाबेदार टोली हो । गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम यो पटक उपाधि रक्षा गर्ने लक्ष्यमा छ ।
गत संस्करणमा लिग चरणबाटै बाहिरिएको रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी यसपटक जसरी भए पनि ट्रफी भित्र्याउने दाउमा छ । लिग चरणमा भएको यी दुवैबीचको खेलमा सुदूरपश्चिमले ७ विकेटको जित हात पारेको थियो । एपीएलको विजेताले एक करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो टोलीले २५ लाख र चौथो हुने टोलिले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । नेपाल क्रिकेट संघको आयोजनामा मङ्सिर १ गते शुरू भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो ।

.gif)