sevenstartv.com ३ पुष २०८२, बिहिवार

इरानका सर्वोच्च नेता खामेनीको चेतावनी, हामी अमेरिकासँग झुक्दैनौं

९ भदौ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकासँगको वर्तमान गतिरोधको ‘कुनै समाधान’ नभएको बताएका छन् । उनले इरानले अमेरिकी दबाबका अगाडि कहिल्यै नझुक्ने अडान व्यक्त गरेका छन् । खामेनीको यो कठोर टिप्पणी आणविक कार्यक्रमलाई लिएर इरान र पश्चिमा शक्तिहरूबीच गहिरो टकराब चलिरहेको बेला आएको हो ।

गत जुनमा इजरायल र अमेरिकाले इरानका आणविक स्थलहरूमा बमबारी गरेपछि तनाव उत्कर्षमा पुगेको थियो । उक्त आक्रमणपछि इरानले अमेरिकासँगको आफ्नो आणविक वार्ता तत्कालका लागि स्थगित गरेको थियो ।

यसैबीच, इरान र युरोपेली शक्तिहरू ९फ्रान्स, बेलायत र जर्मनी० बीच अर्को हप्ता आणविक कार्यक्रमबारे छलफल हुने तय भएको छ, तर यस बैठकमा अमेरिकाको सहभागिता रहने छैन । युरोपेली देशहरूले यदि इरान आणविक वार्तामा फर्कन तयार नभए संयुक्त राष्ट्रसंघको प्रतिबन्धहरू पुनः लागू गर्न सकिने चेतावनी दिँदै आएका छन् । ‘स्न्यापब्याक’ संयन्त्रमार्फत पुराना प्रतिबन्धहरू ब्यूँताउने युरोपेली चेतावनीले इरानमाथि कूटनीतिक दबाब बढाएको छ ।

सर्वोच्च नेता खामेनीले भने, ‘उनीहरू इरान अमेरिकाप्रति आज्ञाकारी होस् भन्ने चाहन्छन् । इरानी राष्ट्र आफ्नो सम्पूर्ण शक्तिले यस्तो गलत अपेक्षा राख्नेहरूको विरुद्धमा खडा हुनेछ ।’ उनले अमेरिकासँग प्रत्यक्ष वार्ताको कुरा गर्नु सतही बुझाइ मात्र भएको र यो मुद्दा ‘समाधान हुन नसक्ने’ प्रकृतिको भएको समेत बताए ।

इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि मात्र भएको दाबी गर्दै आएको छ, तर पश्चिमा देशहरूले इरानले आणविक हतियार विकास गर्न खोजेको आरोप लगाउँदै आएका छन् । आगामी हप्ता हुने युरोपेली देशहरूसँगको बैठकले आणविक वार्ताको भविष्य कता जान्छ भन्ने संकेत गर्नेछ, तर खामेनीको पछिल्लो भनाइले तत्काल कुनै समाधान निस्कने सम्भावना क्षीण देखिएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्