गाजामा दुई वर्षमा १८ हजार ८८५ बालबालिका मारिएको तथ्यांक सार्वजनिक
काठमाडौं । दुई वर्षअघि शुरु भएको इजरायली आक्रमणमा परी गाजामा १८ हजार ८८५ बालबालिका मारिएको तथ्याङ्क सार्वजनिक भएको छ । ६२ हजार नागरिक मारिएकामा १८ हजार ८८५ बालबालिका रहेको अधिकारीलाई उदृत गर्दै अल जजिराले जनाएको छ । प्रत्येक महिना औसतमा ५४० भन्दा बढी बालबालिका मारिने गरेको दाबी उक्त तथ्यांकमा गरिएको छ । लगातारको बमबारीले घर ध्वस्त भएपछि संयुक्त राष्ट्र संघद्वारा सञ्चालित आश्रयस्थलमा बसेका नागरिकलाई समेत इजरायलले निशाना बनाइरहेको छ ।
यसैबीच गाजामा युद्धविरामका लागि अमेरिकाले गरेको प्रस्तावमा हमास समूह सहमत भएको छ । गाजा कब्जा गर्ने गरी इजरायलले ठूलो कारबाहीको तयारी गरिरहँदा युद्धविरामसम्बन्धी नयाँ प्रस्ताव हमासले स्वीकार गरेको हो । प्रस्तावअनुसार, हमासले पहिलो चरणमा १० जीवित र १८ मृतक गरी कुल २८ बन्धक रिहा गर्नेछ । यसको बदलामा इजरायलले आजीवन कारावासको सजाय भोगिरहेका १४० जना, १५ वर्षभन्दा बढी सजाय पाएका ६० जना, र मुद्दा नचलाइएका सबै प्यालेस्टाइनी नाबालिग तथा महिला कैदीलाई रिहा गर्नुपर्नेछ ।
तर इजरायले भने सबै बन्धकको एकैसाथ रिहाइ खोजिरहेको छ । हमाससँग ५० जना बन्धक छन् । ५० बन्धकमध्ये २० जना मात्र जीवित रहेको इजरायलको अनुमान छ ।
इजरायलको यो अडानसँगै हमासले ६० दिने युद्धविराम स्वीकार गर्ने कि नगर्ने भन्ने विषयले अन्योल उत्पन्न भएको छ ।

.gif)