झापामा अत्यधिक मदिरा सेवनका कारण दुई जनाको मृत्यु
काठमाडौं । अत्यधिक मदिरा सेवन गरेर झापामा दुई जनाको मृत्यु भएको छ । एक जनालाई कनकाईको सडक किनारमा र अर्का व्यक्तिलाई विर्तामोडमा सुङ्गुरको खोरमा मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरीका अनुसार आज बिहान कनकाई-४ स्थित सडक किनारमा ६० वर्षीय चन्द्र शिवाकोटीको मृत्यु भएको हो । शिवसताक्षी नगरपालिका–११ घर भई हाल कनकाई–४ मा बस्दै आएका शिवाकोटीले अत्यधिक मदिरा सेवन गर्ने गरेको स्थानीयले बताएका छन् ।
निजले कनकाईमा बसेर ज्यालादारीमा घर रङरोगनको काम गर्दै आएका थिए । यसैगरी, विर्तामोड नगरपालिका-६ शुभबिहानी टोलस्थित सुङ्गुर फार्ममा ६५ वर्षीय डम्बरबहादुर मगर मृत फेला परेका हुन् । मगरको घर भारतको सिक्किम रहेको प्रहरीले जनाएको छ ।
केहीदिन यता झापामा तापक्रम बढेर उच्च गर्मी भएका भन्दै बेलुका अत्यधिक मदिरा सेवन गरी सुतेका बेला दुवैको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । शिवाकोटीको शव सडकको किनारमा खाली खुट्टा भुइँमा पल्टिएको अवस्थामा र मगरको शव खोरको भुइँमा घोप्टो परेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

.gif)