रसुवाको बाढीग्रस्त भौतिक संरचना पुनर्निर्माणमा चीनले सघाउने
काठमाडौँ । रसुवामा भोटेकोशीको बाढीले ग्रस्त भौतिक संरचना पुनर्निर्माणमा मित्रराष्ट्र चीनले सहयोग गर्ने भएको छ ।
संरचना पुनर्निर्माणमा चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का)ले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सिड्काका अध्यक्ष चेन सियाओदोङ्गको भेटवार्तापछि बाढीग्रस्त संरचना पुनर्निर्माणको वातावरण बनेको हो ।
उपप्रधानमन्त्री पौडेल सिड्काका अध्यक्ष चेनबीच सोमबार भएको भेटवार्तामा चिनियाँ टोलीले सहयोगको प्रतिबद्धता जनाएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । असार २४ गते बिहान तिब्बत क्षेत्रबाट बगेर आउने लेन्दे र केरुङ खोलाको बाढी भोटेकोशी नदीमा मिसिएर शक्तिशाली बन्दा ६ चिनियाँ नागरिकसहित १९ बेपत्ता छन् । ११ शव र मानवअंग फेला परेका छन् । सिड्काका अध्यक्ष सियाओदोङ्गले बाढीपछि नेपाल सरकारले उद्धार र बेपत्ताहरुको खोजीमा देखाएको सकृयता र सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।
अर्थमन्त्री पौडेलले विपद् लगत्तैको पुनर्निर्माण नेपालको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै भौतिक संरचनाको पुनर्निर्माणप्रति देखाएको तत्परता, चासो र प्रतिबद्धताका लागि चिनियाँ पक्षलाई धन्यवाद व्यक्त गर्नुभएको छ । अर्थ मन्त्रालयमा भएको द्विपक्षीय भेटवार्ता पश्चात् चीनले भरतपुर क्यान्सर अस्पताल, सिभिल अस्पताल र रसुवागढी–केरुङ ट्रान्समिसन लाइनमा सघाउने समझदारी भएको छ ।

.gif)