sevenstartv.com ५ पुष २०८२, शनिवार

देशभर ७२ प्रतिशत धान रोपाइँ

४ साउन २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । यसवर्ष अहिलेसम्म देशभर ७२ प्रतिशत भूभागमा धान रोपाइँ भएको छ । सामान्यतस् जेठ अन्तिमदेखि धान रोपाइँ सुरु हुनेगरेकोमा साउन ४ गतेसम्म सात प्रदेशको पछिल्लो तथ्याकं अनुसार ७२ दशमलब १४ प्रतिशत मात्र रोपाइँ भएको हो ।

जबकी गत वर्ष यही अवधिसम्म देशभर ८४ दशमलब ६ प्रतिशत भूभागमा भइसकेको धान भएको कृषि तथा पशुपंछी मन्त्रालय अन्तर्गतको कृषि विभागको तथ्याकंले देखाउँछ ।

विभाग अन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार सबभन्दा बढी धान खेती हुने मधेश प्रदेशमा आइतबारसम्म जम्मा ४६ प्रतिशत भूभागमा धान रोपाइँ भएको छ । मधेशमा सुख्खाका कारण रोपाइँ प्रभावित भएको हो । सिंचाइ अभावले साउन लाग्दासम्म पनि धेरै क्षेत्रमा रोपाइँ प्रभावित भएको देखिन्छ ।

मधेशमा ३ लाख ७२ हजार ६ सय ४५ हेक्टर क्षेत्रफलमा धान खेतीयोग्य भूभाग छ । जसमा हालसम्म  १ लाख ७४ हजार ५ सय ८ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको विभागले जनाएको छ । मधेशपछि बढी धान खेती हुने प्रदेश लुम्बिनी हो । लुम्बिनीको ३ लाख २ हजार ९ सय ३९ हेक्टरमध्ये २ लाख ६६ हजार ३ सय ६९ हेक्टरमा रोपाइँ भएको छ ।

यस्तै कोशी प्रदेशमा ६१ दशमलब ७९ प्रतिशत, बाग्मतीमा ८७ दशमलब १९ प्रतिशत, गण्डकीमा ७९ दशमलब २८ प्रतिशत र  लुम्बिनी र कर्णालीमा समान ८७ दशमलब ९३ प्रतिशत रोपाइँ भएको छ । मधेशपछि धान खेती कोशी प्रदेशमा हुन्छ । कोशीको कूल २ लाख ७६ हजार ३ सय ८६ हेक्टरमध्ये साउन ४ गतेसम्म १ लाख ७० हजार ७९० हेक्टरमा मात्र रोपाइँ भएको छ ।

बाग्मती प्रदेशको १ लाख २० हजार ५ सय ४५ हेक्टरमध्ये १ लाख ५ हजार १ सय ३ हेक्टर, गण्डकीको ९४  हजार १ सय ८२  हेक्टरमध्ये ७४  हजार ६ सय ६४ हेक्टर र कर्णाली प्रदेशको ४० हजार ८ सय ८४ हेक्टरमध्ये ३५  हजार ९ सय ४८ हेक्टरमा रोपाइँ सकिएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्