नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा
काठमाडौं । २० वर्ष मुनिको साफ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत आज नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको छ । खेल बंगलादेशको ढाकास्थित बसुन्धारा किंग्स एरिनामा नेपाली समय अनुसार साँझ पौने ७ बजे हुनेछ ।
यसअघि सम्पन्न खेलमा नेपालले दुई खेलमा एक जित र एक हार बेहोरेको छ । नेपालले पहिलो खेलमा भुटानलाई ६–१ गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३-२ गोलले पराजित भएको थियो ।
श्रीलंकाले भने आफ्ना शुरुका दुवै खेलमा हार बेहोरेको छ । श्रीलंका पहिलो खेलमा बंगलादेशसँग ९–१ गोलले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानसँग ५–० गोलले पराजित भएको थियो ।
नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिइरहेको यो प्रतियोगिता जुलाई २२ सम्म चल्ने छ । यो प्रतियोगिता डबल राउण्ड रोबिनका आधारमा खेलाईदैछ । हरेक देशले एक अर्काविरुद्ध २–२ पटक खेलेपछि शिर्ष स्थानमा रहने देश विजेता हुने छ ।
नेपालले अब अर्को खेल जुलाई १७ मा श्रीलंकाविरुद्ध, जुलाई १९ मा भुटान विरुद्ध र जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ ।

.gif)