sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

वीरगञ्ज भन्सारको राजस्व संकलन लक्ष्य घटाइयो

५ भदौ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । दुई वर्षदेखि लक्ष्यअनुसारको राजस्व संकलन गर्न असफल भएसँगै भन्सार विभागले वीरगञ्ज भन्सारको लक्ष्य घटाइदिएको छ । 

विभागले आर्थिक वर्ष २०८०/८१ को तुलनामा चालु आर्थिक वर्ष २०८१/८२ मा राजस्व संकलन गर्ने लक्ष्य २६ अर्ब ९२ करोड ८६ लाख ७२ हजार रुपैयाँले घटाइदिएको हो । भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई राजस्व संकलनको महत्त्वाकाङ्क्षी लक्ष्य दिए पनि कार्यालयले लक्ष्यअनुसारको राजस्व भेट्टाउन सकिरहेको थिएन ।
 
विभागले वीरगञ्ज भन्सार कार्यालयलाई आव २०८०/८१ मा २ खर्ब ४५ अर्ब ८८ करोड ५० लाख ८२ हजार राजस्व संकलनको लक्ष्य निर्धारण गरेको थियो । कार्यालयले गत आवमा मुस्किलले १ खर्ब ५७ अर्ब ४० करोड ३१ लाख २८ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । विगतका वर्षमा लक्ष्य र संकलनबीच ठूलो अन्तर देखिएसँगै चालु आवमा राजस्व संकलनको लक्ष्य घटाइएको हो । 

कार्यालयले आव २०७९/८० मा २ खर्ब ६० अर्ब ९७ करोड राजस्व संकलनको लक्ष्य पाएकामा ६० दशमलव २२ प्रतिशत अर्थात् एक खर्ब ५७ अर्ब १५ करोड ४९ लाख २२ हजार राजस्व संकलन गरेको थियो । आव २०७८/७९ मा भने लक्ष्यअनुसारको राजस्व संकलन गरेको थियो । आव २०७८/७९ मा दुई खर्ब तीन अर्ब राजस्व संकलनको लक्ष्य रहेकामा १००.५४ प्रतिशत अर्थात २ खर्ब चार अर्ब १२ करोड राजस्व उठाएको थियो ।
 

 

यो पनि पढ्नुहोस्