sevenstartv.com १ पुष २०८२, मङ्गलवार

नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपरओभरमा पराजित

३ असार २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं ।  त्रिदेशीय टी-२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससँग बराबरी खेलेपछि तेस्रो सूपरओभरबाट खेल टुङ्ग्याइएको छ ।

स्कटल्यान्डमा भएको खेलमा टस जितेर सुरुमा फिल्डिङ रोजेको नेपालले निर्धारित–२० ओभरमा नेदरल्यान्ड्सलाई ७ विकेटको क्षतिमा १५२ रनमा रोकेको थियो ।  नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिएका थिए । 

१ सय ५३ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा उति नै रन बनायो र खेल बराबरीमा टुङ्गियो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४८ रन बनाए ।  त्यसपछि सूपरओभर भयो ।  सूपरओभरमा पहिले ब्याटिङ गर्दै नेपालले १ विकेट गुमाएर १९ रन बनायो ।  जबाफमा २० रनको लक्ष्य पछ्याउँदै नेदरल्यान्ड्सले १९ रन मात्र बनायो र बराबरी भयो ।

अनि फेरि दोस्रो सूपरओभर भयो। दोस्रो सूपरओभरमा नेदरल्यान्ड्सले सुरुमा ब्याटिङ गर्दै १ विकेटको क्षतिमा १७ रन बनायो।  जबाफी ब्याटिङ गर्दै नेपालले ६ बलमा पुनः १७ रन नै बनायो र फेरि बराबरी भयो । अनि तेस्रो सूपरओभरमा नेपालले सुरुमा ब्याटिङ गर्दै १ रन बनाउनु अगावै २ विकेट गुमायो। अर्थात् नेदरल्यान्ड्सले खेल जित्न जम्मा १ रनको लक्ष्य पायो ।

जबाफी ब्याटिङ गर्दै नेदरल्यान्ड्सले १ बलमै ६ रन बनायो र खेल जित्यो । शृङ्खलाको पहिलो खेलमा आइतवार नेदरल्यान्ड्स स्कटल्यान्डसँग हारेको थियो।  नेपालले आज स्कटल्याण्डसँग दोस्रो खेल खेल्दैछ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्