'मोदीजी र मैले दुई देशको सम्बन्धलाई अझ सुदृढ बनाउने अठोट गर्यौँ'
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्ड भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेट फलदायी रहेको बताएका छन् । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले सो भेटबाट प्रधानमन्त्री मोदीसमेत खुसी रहेको आफूले पाएको बताएका हुन् ।
उनले भने, ‘भेट अत्यन्त राम्रो र सुमधुर वातावरणमा मित्रता र हार्दिकताका साथ भयो ।’ उनले गत सेप्टेम्बरमा दुई नेताबिच पनि राम्रै कुराकानी भएको र बाहिर हल्ला गरेजस्तो कुनै समस्या नभएको स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले आफूहरूले नेपाल भारत सम्बन्ध सम्बन्धलाई अझै विस्तृत, व्यापक र सुदृढ गर्दै लाने अठोट गरेको पनि सुनाए । त्यस्तै दुई छिमेकीबिच कुनै पनि सानातिना समस्या देखिए एक आपसमा संवाद गरिहाल्ने र टुङ्ग्याउने भन्ने गहिरो समझदारी गरेको पनि उनले जिकिर गरे ।








