दिल्ली यू-१९ माथि नेपालको लगातार दोस्रो जित
काठमाडौं । आइसिसी यू-१९ विश्वकप छनोटको तयारीमा रहेको नेपाली युवा टोलीले भारतको दिल्ली यू-१९ माथि लगातार दोस्रो जित निकालेको छ । वीरगञ्जमा बिहीबार भएको दोस्रो खेलमा दिल्लीलाई १०२ रनले पराजित गरेसँगै नेपालले तीन खेलको सिरिज अन्तिम खेलअघि जितेको छ ।
नेपालले दिएको १९३ रनको लक्ष्य पछ्याएको दिल्ली ९० रनमै अलआउट भयो । उसका लागि शन्तनु यादवले सबैभन्दा बढी ३० रन जोडे । बलिङमा नेपालका अपराजित पौडेलले ५ विकेट लिए । उनले ७ ओभरमा ४ मेडन राख्दा ३८ रन दिए । नितिश पटेलले २ विकेट लिँदा विपिनप्रसाद शर्मा, नरेन भट्ट र अशोक धामीले १–१ विकेट हात पारे ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान नरेन भट्ट र उपकप्तान अभिषेक तिवारीले अभ्यास खेलमा अर्धशतक प्रहार गरे। जससँगै नेपालले ९ विकेटको क्षतिमा १९२ रन जोड्यो । खेलमा नरेनले ५२ रन जोडेका हुन्। उनले १२५ बल खेलेर ६ चौका प्रहार गरे । यस्तै उपकप्तान अभिषेक तिवारीले नेपालका लागि सबैभन्दा बढी रन जोड्ने क्रममा ६० रनको योगदान गरे ।
उनले ८२ बलमा ५ चौका र ३ छक्का प्रहार गरेका थिए । कप्तान र उपकप्तानबाहेक नेपालका लागि अशोक धामीले १९ रन र सोहित कुँवरले ११ रन बनाए । अरु ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा दिल्ली यू-१९ का शुभम् दुवेले ३ विकेट लिए । यस्तै आदित्य भण्डारी, अमन चौधरी र रौनक वाग्हेलाले २–२ विकेट लिए । नेपालले पहिलो खेलमा दिल्लीलाई ५ विकेटले हराएको थियो ।
विश्वकप छनोटको तयारीका लागि दिल्लीसँग तीन खेलको सिरिज खेलेपछि नेपालले अफागानिस्तानसँग पनि तीन खेलको सिरिज खेल्ने तय छ । फगानिस्तानसँगको सिरिज चैत २१ देखि मुलपानीमा हुनेछ । नेपालले आगामी चैत अन्तिम सातादेखि आइसिसी यू–१९ विश्वकपअन्तर्गत एसिया छनोट आयोजना गर्दैछ । एसिया छनोटमा आयोजक नेपालसहित पाँच टोलीले भाग लिँदैछन् । नेपाल, अफगानिस्तान, युएई, हङकङ र ओमानले छनोटमा प्रतिस्पर्धा गर्दैछन् ।

.gif)