आन्दोलनरत शिक्षकहरूले एसईईको उत्तरपुस्तिका परीक्षण नगर्ने
काठमाडौं । आफ्ना माग पूरा नभएको भन्दै शिक्षकहरूले माध्यामिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण नगर्ने भएका छन् । नेपाल महासंघले शिक्षकहरूलाई २० चैतदेखि काठमाडौंमा शैक्षिक सडक आन्दोलनमा सहभागी हुन निर्देशन दिँदै एसईई लगायतका कुनै पनि परीक्षाको उत्तरपुस्तिका परीक्षण नगर्न आग्रह गरेको छ ।
यही चैत ७ गते सुरु भएको एसईई १९ गते सकिँदै छ । ४ लाख शिक्षक कर्मचारी छन् । तीमध्ये ७५ प्रतिशत शिक्षक कर्मचारी सडक आन्दोलनका लागि काठमाडौं आउने महासंघको दावी छ । महासंघले २० गतेदेखि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गर्ने सभा, समारोह, तालिम, गोष्ठी लगायतका गतिविधिमा सहभागी नहुन शिक्षकहरूलाई निर्देशन दिएको छ ।
काठमाडौंमा प्रदर्शन गर्न महासंघले शिक्षक-कर्मचारीबाट आन्दोलन परिचालन शुल्क पनि उठाउने निर्णय गरेको छ । प्रति शिक्षक कर्मचारी शुल्क १०० रुपैयाँ निर्धारण गरेको महासंघले ५० रुपैयाँ केन्द्रमा पठाउन भनेको छ ।
महासंघले २० गतेदेखि हुने अनिश्चितकालीन आन्दोलन अन्तिम र निर्णायक हुने बताएको छ । दोस्रो चरणको आन्दोलन अन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा शिक्षकहरू रिले अनशमा पनि बसिरहेका छन् । १५ जना शिक्षकको समूह रिले अनशमा बसेको हो । अहिले परीक्षा चलिरहेकाले १५ जनाको संख्यामा मात्र रिले अनशनमा बसेको महासंघको भनाइ छ ।

.gif)