sevenstartv.com १६ असार २०८३, मङ्गलवार

सार्वजनिक लेखा समितिले चैत १५ गतेभित्र २३ औँ वार्षिक प्रतिवेदन सदनमा पठाइसक्ने

५ चैत २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले २३ औँ वार्षिक प्रतिवेदन यही चैत १५ गतेभित्र पारित गरेर सदन पठाउने निर्णय गरेको छ । 

मंगलबार सिंहदरबारमा बसेको समिति बैठकले यस्तो निर्णय गरेको हो । बैठकको निर्णय सुनाउँदै सभापति ऋषिकेश पोखरेलले प्रतिवेदनका सन्दर्भमा बाँकी रहेका प्राविधिम कुराहरुमा सच्याउनुपर्ने भए चैत १० गतेभित्र अध्ययन गरेर सुझाव दिन सांसद्हरुसँग आग्रह गरेका छन् । 

बैठकले समितिमा परेका १०० उजुरीमध्ये ४८ वटा उजुरीमा छलफल गर्ने भएको छ । समितिमा परेका उजुरीबारे अध्ययन गर्न नेपाली कांग्रेसका सांसद सञ्जय गौतम नेतृत्वमा उपसमिति गठन गरिएको थियो । उक्त उपसमितिले १०० मध्ये ४८ वटा उजुरीमाथि छलफल गर्नु उपयुक्त हुने उपसमितिले निष्कर्ष निकालेको छ । 

समिति सभापति पोखरेले उजुरीहरु लामो समयसम्म राख्दा अप्ठ्यारो हुने भन्दै आउँदो चैत १५ गतेसम्म टुंग्याउनुपर्ने बताए । बुधबारदेखि नियमित २ घण्टा बैठक राखेर समितिमा परेकामध्ये ४८ उजुरीको टुंगो लगाउनुपर्ने बताएका छन् ।