sevenstartv.com १६ असार २०८३, मङ्गलवार

परराष्ट्रमन्त्री र युक्रेनका विदेशमन्त्रीबीच वार्ता

५ चैत २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ । 

भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहेका उनीहरुबीच आज सो भेटवार्ता भएको हो । सो भेटका क्रममा नेपाल युक्रेन सम्बन्ध र आपसी हितका विविध विषयहरुमा कुराकानी भएको थियो । 

त्यस अवसरमा मन्त्री डा. राणाले युक्रेनी सैनिकको नियन्त्रणमा रहेका सात नेपाली नागरिकको रिहाइका लागि उहाँमार्फत युक्रेन सरकारसँग आग्रह गरीन् । 
नेपाली नागरिक रसियाली सेनामा भर्ना हुन पाउने कुनै नीति नेपालको नरहेपनि मानव तस्करहरु मार्फत् नेपालीहरुलाई लगेर रुसी सेनामा भर्ना गरिएको कुरा पछि थाहा भएको स्पष्ट गर्दै मन्त्री डा. राणाले रुसी सेनामा कार्यरत रहेका ती सात नेपाली युद्धबन्दीका रुपमा युक्रेनी सेनाको कब्जामा रहेकाले उनीहरुको रिहाइको माग गरेकी हुन् ।

यस भेटका क्रममा दुई देशकाबीचमा सरकारी एवं डिप्लोम्याटिक पासपोर्ट बाहकलाई निःशुल्क भिसासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।