पश्चिमाञ्चल क्याम्पस बाहिर नाराबाजी, भित्र मतदान
काठमाडौं । नेपाल विद्यार्थी संघभित्रको आन्तरिक विवादले इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरामा अनसन, नाराबाजी र विरोध प्रदर्शनका बीच स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को निर्वाचन जारी छ ।
नेविसंघको एउटा समूहले सोमबारदेखि नै क्याम्पसमा रिले अनसन गरिरहेको छ भने अहिले नाराबाजीसहित प्रदर्शन भइरहेको छ । कडा सुरक्षाका बीच भित्र मतदान भने जारी छ ।
नेविसंघबाट स्ववियु सचिव पदमा मनोनयन नै नभएपछि आन्तरिक विवादले क्याम्पसमा विरोध प्रदर्शन भइरहेको हो । केन्द्रको आधिकारिक परिपत्रविपरीत नेपाली कांग्रेस कास्की जिल्ला नेतृत्वले सचिव पदमा मनोनयन नै गराउन नदिएको भन्दै एउटा समूहले विरोध गर्दै फेरि मनोनयन गर्न माग गरिरहेको छ ।
नेविसंघले सौगात पण्डितको अध्यक्षतामा निर्वाचनमा जान मनोनयन दर्ता गराएका थिए । तर, सचिव पदमा आफूले भनेको मान्छेले टिकट नपाएको भन्दै मनोनयन पत्र नै च्यातिएको नेविसंघकै एउटा समूहले आरोप लगाइरहेको छ । नेविसंघ केन्द्रीय कमिटीले सचिवको उम्मेदवार प्रशान्त उपाध्यायलाई बनाउन भन्दै परिपत्र गरेको छ ।
नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको नामबाट परिपत्र भए पनि कांग्रेस कास्की सभापति किशोरदत्त बराललगायतले सचिवबिनै निर्वाचनमा जाने वातावरण बनाएको भन्दै नेतृत्वप्रति नेविसंघका नेताहरु रुष्ट छन् । त्यसैको विरोधमा एउटा समूहले सोमबार टायर बालेर विरोध प्रदर्शन गरेको थियो भने अहिलेसम्म पनि रिले अनसन जारी राखेको छ ।








