गणतन्त्र पक्षधर मिलेर अघि बढ्न अध्यक्ष दाहालको प्रस्ताव
परिणाममुखी काम निकाल्न सरकार प्रतिबद्ध भएको सत्ता पक्षका नेताहरुको आस्वासन
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्र पक्षधर मिल्नुपर्ने प्रस्ताव गरेका छन् । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली र तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको अनौपचारिक संवादमा दाहालले मिलेर अघि बढ्नेबारे प्रस्ताव गरेका हुन् ।
गणतन्त्रविरुद्ध राजावादी शक्तिहरूले षड्यन्त्र गरिरहेकाले त्यसलाई असफल बनाउन ओली र देउवासँग विभिन्न ढंगले संवाद अगाडि बढाइएको दाहालकास्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए । तर तीन नेताबिच प्रत्यक्ष भेटघाट भने नभएको उनले स्पष्ट पारे । अध्यष दाहालले प्रतिगामीहरू सलबलाएका कारण व्यवस्थामाथि नै खतरा उत्पन्न भएकाले गणतन्त्रका पक्षधर एक हुनुपर्ने कुरा गरे ।
सरकारमा जाने वा अन्य विषयमा कुनै कुरा नभएको आचार्यले दावी गरेका छन् । उनले केही दिनअघि प्रधानमन्त्री ओलीका विज्ञ सल्लाकार अग्नि खरेल दाहाल निवास खुमलटारमा भेटवार्ता गर्न आएको समेत स्वीकार गरे । फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्ति र फागुन २५ गते स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजावादीहरूको सहभागिताबारे माओवादीले गम्भीर समीक्षा गरेको छ ।
यसअघि नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गणतन्त्र पक्षधरको सरकार बन्ने सम्भावनाको ढोका खुलेको बताए । आइतबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद दाहालले अहिले सडक भन्दा पनि सरकारमा समस्या देखिएको भन्दै त्यसलाई निरुत्साहित गर्नका लागि गणतन्त्र पक्षधरको सरकार बन्ने सम्भावनाको ढोका खुलेको बताए । यसका लागि प्रारम्भिक छलफल समेत सुरु भइसकेको उनको दाबी थियो ।








