नेपाल सुपर लिगको अक्सन र ड्राफ्ट सम्पन्न, हरेक टिमले ६ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने
७ टिम सहभागी प्रतियोगिता चैत १६ गतेबाट सुरु हुने
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजन आगामी चैत १६ गतेदेखि सुरु हुँदैछ । त्यसका लागि आयोजक नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले खेलाडीको अक्सन र ड्राफ्ट गरिसकेको छ ।
यसपटक आयोजक एनएसइएमले टिम निर्माणका लागि मिनी अक्सन र ड्राफ्ट गरेको थियो । जसबाट सहभागी टिमले खेलाडीहरू अनुबन्ध गरेका छन् । क्याटेगोरी ए र बी को खेलाडीका लागि अक्सन भएको थियो भने क्याटेगोरी सी का खेलाडीको ड्राफ्ट भएको थियो । हरेक टिमले सुरुमा एक मार्की खेलाडी घोषणा गरेका थिए । त्यसपछि रिटेन्सन पोलिसी अनुसार टिमहरूले विभिन्न क्याटेगोरीका खेलाडी रिटेन गरे ।
हरेक टिमले क्याटेगोरी ए बाट रिटेन्सनसहित ३ र क्याटेगोरी बी बाट ६ खेलाडी लिन पाउने प्रावधान थियो । यस्तै क्याटेगोरी सी बाट ४ खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान थियो । मार्की, रिटेन्सन, अक्सन र ड्राफ्टपछि हरेक टिममा १४ खेलाडी पुगेको छ । यस्तै केही टिमले ट्यालेन्ट हन्ट पनि सञ्चालन गरिरहेको छ भने विदेशी खेलाडीहरू समेत अनुबन्ध गर्ने क्रम जारी छ । यसपटक हरेक टिमले ६ विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन् । जसमा एक खेलाडी एसियाबाट हुनुपर्नेछ ।
यस्तै क्याटेगोरी डी बाट पनि टिमले एक खेलाडी राख्न सक्नेछन् भने ट्यालेन्ट हन्टबाट एक खेलाडी राख्नुपर्नेछ । अक्सन र ड्राफ्टपछि सहभागि सातवटै टिमले आफ्नो खाका तयार पारेका छन् । केही टिमले विदेशी खेलाडीहरू अनुबन्ध गर्दै टिमलाई बलियो बनाएको छ । एनएसएलको तेस्रो संस्करणमा ७ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् भने खेल दशरथ रंगशालमा हुनेछ ।
दोस्रो संस्करणमा ९ टिमले प्रतिस्पर्धा गरेपनि तेस्रो संस्करणमा टिम संख्या घटेको हो । यसपटक काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, धनगढी एफसीसहित पोखरा थण्डर्स, एफसी चितवन, बुटवल लुम्बिनी एफसी र झापा एफसीले प्रतिस्पर्धा गर्नेछन् । झापा एफसी दोस्रो संस्करणमा थपिएको टिम हो भने बाँकी ६ टिमले पहिलो संस्करणबाटै खेल्दै आएका छन् ।

.gif)