बीपी राजमार्ग पुनर्निर्माणमा सहयोग गर्न जापान सकारात्मक
काठमाडौं । बीपी राजमार्ग पुनर्निर्माणमा सहयोग गर्न जापान सकारात्मक देखिएको छ । गत असोजको दोस्रो साताको बाढी पहिरोका कारण क्षति पुगेको उक्त राजमार्ग पुनर्निर्माण गर्न जापान सकारात्मक देखिएको सडक विभाग स्रोतले बताएको छ ।
सोमबार जाइकाको टोलीले भौतिक पूर्वाधार यातायात मन्त्रालय र विभागसँग थप छलफल गर्ने कार्य तालिका छ । सो छलफलले सबै विषय टुङ्गो लाग्ने विभाग स्रोतको भनाइ छ । उक्त विषय टुङ्गो लागेपछि स्थायी पुनर्निर्माणका लागि ठेक्का आह्वान हुने छ ।
गत मंगलबार मात्रै अर्थ मन्त्रालयले बीपी राजमार्ग पुनर्निर्माणका लागि स्रोत सहमति दिएको थियो । यो राजमार्ग पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले ८ अर्ब ५० करोड रुपैयाँको स्रोत सहमति दिएको हो । यसमध्ये बीपी राजमार्ग भक्तपुर खण्डलाई सात अर्ब ५० करोड रुपैयाँ र बीपी खुर्कोट खण्डलाई एक अर्ब रुपैयाँको स्रोत सुनिश्चितता भएको छ ।
यसमध्ये यी दुवै खण्ड निर्माणका लागि चालु वर्षमा एक अर्ब ७० करोड रुपैयाँ विनियोजन हुने भएको छ । यसैगरी अस्थायी सडक पुनर्निर्माणका लागि बीपीको दुवै खण्डमा २१ करोड २५ लाख विनियोजन हुने जनाइएको छ ।

.gif)