श्रीलंकाले जित्याे अस्ट्रेलियाविरुद्धको एकदिवसीय शृंखला
काठमाडौैं । कुशल मेन्डिसको शतकीय इनिङ्ससँगै श्रीलंकाले अस्ट्रेलियाविरुद्धको एकदिवसीय शृंखला जितेको छ । शुक्रबार सम्पन्न दोस्रो खेलमा घरेलु टोली श्रीलंकाले अस्ट्रेलियालाई १७४ रनले हराएको हो। श्रीलंकाले पहिलो खेल ४९ रनले जितेको थियो ।
श्रीलंकाले दिएको २८२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २४।२ ओभरमा सबै विकेट गुमाउँदै १०७ रन मात्रै बनाउन सक्यो । अस्ट्रेलियाका कप्तान स्टिभन स्मिथले सर्वाधिक २९ रन बनाए । श्रीलंकाका डुनिथ वेलालेजले सर्वाधिक चार विकेट लिए ।
कोलम्बोस्थित आर प्रेमादासा रंगशालामा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा चार विकेट गुमाउँदै २८१ रन बनाएको थियो । श्रीलंकाले पहिलो विकेट १५ रन बनाउँदा नै गुमाएको थियो ।
ओपनर पथुम निस्सान्का ६ रनमा पभिलियन फर्किए । तर, दोस्रो विकेटका लागि निशान मदुष्का र कुशलले ९८ रनको साझेदारी गर्दै श्रीलंकाको इनिङ्स उकासे । अस्ट्रेलियाका बेन द्वारशुइस, आरोन हार्डी, शन एबट र जाम्पाले समान एक विकेट लिए ।

.gif)