नेपाल पुलिस क्लब आहारारा पोखरा गोल्डकपको फाइनलमा
काठमाडौं । ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजमाथि जित निकाल्दै नेपाल पुलिस क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
पोखरामा बुधबार सम्पन्न खेलमा पुलिसले चर्च ब्वाइजलाई १–० ले पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो ।
पुलिसको जितमा सञ्जिव लामाले गरेको गोल नै निर्णायक बन्यो । पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेको थियो । तर, ५८औं मिनेटमा सञ्जिवले करिब ३५ यार्डबाट प्रहार गरेको गोलले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजका राजु भूषालले क्लियर गर्न लागेको बल आफूसमक्ष आएपछि सञ्जिवले माथिल्लो बारतर्फबाट फिनिसिङ गरे ।
गत संस्करण भने यी दुई टोली क्वार्टरफाइनलमा भिडेका थिए । त्यतिखेर भने चर्च ब्वाइजले पुलिसलाई १–० ले हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो । उक्त हारको बदला पुलिसले यसपल्ट सेमिफाइनलमा लिएको छ । अब पुलिसले उपाधिका लागि थ्री स्टार क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबीचको विजेतासँग खेल्ने छ । फाइनल फागुन ३ गते हुनेछ ।

.gif)