sevenstartv.com ४ पुष २०८२, शुक्रवार

बागमतीलाई पराजित गर्दै संकटाले जित्याे सभापति कप फुटबल

१८ माघ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा भएको पहिलो संस्करणको सभापति कप फुटबल प्रतियोगिताको उपाधि ए डिभिजन टोली सङ्कटा क्लबले जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको फाइनल खेलमा आयोजक नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेशलाई सडनडेथमा पराजित गर्दै संकटा क्लबले सभापति कप फुटबल प्रतियोगिताको उपाधि जितेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा सङ्कटाले बागमती प्रदेशलाई सडन डेथमा ४–३ गोलअन्तरले पराजित गर्दै उपाधि जित्न सफल भयो । निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले गोलरहित बराबरीमा खेलेका  थिए । त्यसपछि पेनाल्टी सुटआउटमा ३–३ गोलको बराबरी भएपछि अन्तिममा खेल सडन डेथमा गएको थियो । पेनाल्टीमा  सङ्कटाका राम थापा र रोशन पहारीको प्रहार बागमतीका गोल रक्षक विकेश कुथुले रोके । लक्ष्छु थापा, साम कार्लोस, दीप कार्की र सुनिल खड्काले भने गोल गरे ।

बागमतीका नवीन लामा, फोडे फोफना र सेन्जल एलेक्सले मात्रै गोल गर्न सके भने कुलदीप कार्की र गौरव श्रेष्ठको प्रहार गोल रक्षक दीप कार्कीले रोके । रजत तिवारीको प्रहार माथिल्लो बारबाट बाहिरियो । प्रतियोगिताको विजेता टोली सङ्कटाले रु २६ लाख तथा उपविजेता  बागमतीले रु १३ लाख पुरस्कार प्राप्त गरेको छ । 

बागमतीको टिमले पाएको १३ लाख पुरस्कार राशिको भने भोटेकोशी गाउँपालिका प्रमुख पासाङ नोर्वु शेर्पाले प्रायोजन गरेका थिए । प्रतियोगिताको नगद पुरस्कार आकर्षक डालोमा राखेर नगर्दै प्रदान गरिएको हो । यसैगरी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी सङ्कटाका कप्तान दीप कार्की घोषित भए । उनले उपाधिसहित रु ७५ हजार पुरस्कार प्राप्त गरे । 

प्रतियोगितामा उदीयमान खेलाडीको उपाधि भने बागमतीका सन्दीप कार्कीले पाए । उनले रु २५ हजार प्राप्त गरे । उत्कृष्ट गोल रक्षक बागमतीका विकेश कुथु घोषित भए । विजेताहरुलाई नेपाली कांगे्रसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरील, नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिका संयोजक मोहनबहादुर बस्नेत, नेपाली कांग्रेस खेलकुद विभाग प्रमुख उमेशजंग रायमाझी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामा, बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, भोटेकोशी गाउँ पालिका अध्यक्ष पाङ नोर्वु शेर्पा, अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतले पुरस्कार तथा मेडल प्रदान गरेका थिए । माघ १० गतेदेखि सुरु भएको कांग्रेस सभापति कप फुटबल प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्