एन्फा महिला लिग फुटबलको फाइनलमा एपीएफलाई पुलिसको चुनौती
काठमाडौं । एन्फा महिला लिग फुटबलको उपाधिका लागि विभागीय टोली नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । पुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेल बुधबार दिउँसो २ बजेदेखि सुरू हुनेछ ।
पहिलोपटक महिला लिगमा एपीएफ र पुलिस दुवैले अर्को विभागीय टोली त्रिभुवन आर्मी एफसीलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् । सुरूमा महिला लिगमा १० टोलीले प्रतिस्पर्धा गरेका थिए । सिंगल राउण्डपछि शीर्ष पाँच टोली सुपर लिगमा प्रवेश गरेका थिए जहाँ डबल राउण्ड रोबिनका आधारमा ५ टिमबीच २० खेल भएको थियो ।
त्यसमा एपीएफ अपराजित रहेर शीर्ष स्थानमा रहँदा आर्मी दोस्रो, पुलिस तेस्रो र बागमती युथ क्लब चौथो भएको थियो । पाँचौ भएको वालिङ नगरपालिका सुपर लिगबाट बाहिरियो भने शीर्ष चार टोली प्लेअफ पुगेका थिए । पहिलो क्वालिफायरमा एपीएफले आर्मीलाई हराएर फाइनल पुगेको हो । अर्कोतर्फ पुलिसले बागमती युथ क्लबलाई १-० ले पराजित गर्दै क्वालिफायर टु मा स्थान बनाएको थियो ।
पुलिसले क्वालिफायर टु मा आर्मीलाई पेनाल्टी सुटआउटमा २-१ ले हराएर एपीएफसँग फाइनल भेट पक्का गरेको हो । एपीएफ अनिता बस्नेतको कप्तानीमा खेल्दैछ भने पुलिसको कपत्नी राष्ट्रिय टिमकी पूर्वकप्तान निरु थापाले गर्नेछिन् । दुवै टिमका मुख्य प्रशिक्षकले फाइनलका लागि तयार रहेको बताएका छन् ।

.gif)