यू-१९ महिला विश्वकप : नेपालसँग मलेसिया पराजित
काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा नेपालसँग मलेसिया पराजित भएको छ । नेपालले प्लेअफ खेलमा मलेसियालाई ७ विकेटले पराजीत गरेको हो ।
मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि कप्तान पुजा महतोले अविजित २३ रनको पारी खेलिन् । सिमाना केसी ४ रनमा अविजित रहिन् । मलेसियाकी मार्सियाले ३ विकेट लिइन् ।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १६.५ ओभरमा अलआउट हुँदै ४५ रन बनाएको थियो । नुरिमानले सर्वाधिक १५ रन बनाएकी थिइन् । नेपालकी कप्तान पुजाले ३.५ ओभरमा ९ रन दिएर ४ विकेट लिइन् । रचना चौधरीले ३ तथा सिमाना केसी र रिया शर्माले १/१ विकेट हात पारे ।
पूजा महतो आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा समूह चरण र प्लेअफका खेलहरूसम्म आइपुग्दा सर्वाधिक विकेट लिने बलर समेत बनेकी छन् । उनले ४ खेलमा ९ विकेट लिइन् । अब सुपर सिक्सदेखि सेमिफाइनलका खेलहरू बाँकी नै भएकाले अन्य खेलाडीहरू सूचीमा माथि आउनेछन् । हालका लागि पुजा शीर्षस्थानमा छिन् । नेपालले समूह चरणमा बंगलादेश, स्कटल्याण्ड र अस्ट्रेलियासँग हार व्यहोरेको थियो ।

.gif)