प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटमा बाग्मतीविरुद्ध एपीएफको शानदार जित, सुपर फोरको अन्तिम खेलमा आर्मीसँग भिड्ने
काठमाडौं । प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको ‘सुपर–फोर’ मा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले बाग्मती प्रदेशलाई १० विकेटले पराजित गरेको छ ।
बाग्मतीले दिएको ४३ रनको लक्ष्य एपीएफले ६ ओभर ५ बलमा १ विकेट पनि नगुमाई भेटायो । एपीएफकी ममता चौधरीले २३, राजमती ऐरीले १४ रन बनाइन् । यसअघि धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बाग्मतीले निर्धारित १८ ओभरमा ८ विकेट गुमाएर ४२ रन बनायो ।
खराब मौसमका कारण खेल १८ ओभरमा झारिएको थियो । बाग्मतीका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । एपीएफकी सुमन विष्टले ३ तथा रेखा रावल र बिनु बुढाले २/२ विकेट लिए । योसँगै एपिएफ फाइनल नजिक पुगेको छ ।
अब एपिएफले सुपर फोरमा अन्तिम खेल त्रिभुवन आर्मी क्लबसँग खेल्ने छ । ‘सुपर-फोर’ मा शीर्ष दुईमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । फाइनल खेल आगामी शनिबार हुनेछ ।

.gif)