विश्वकप खेल्ने महिला यू-१९ क्रिकेट टिमको बिदाई
काठमाडौं । मलेसियामा हुन लागेको आईसीसी यू-१९ महिला टी-२० विश्वकप खेल्न जाने नेपाली टोलीको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाई गरेको हो ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यानका उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायत क्यानका सदस्य तथा महिला सिनियर टिमकी कप्तान इन्दु बर्माले शुभकामना सहित टोलीको बिदाई गरेका हुन् ।
बिदाई कार्यक्रममा क्यानका सचिव पारस खड्काले टोलीलाई कुनै पनि दबाब नलिइकन खेल्न आग्रह गरे । मन्त्री तेजुलाल चौधरीले उमेरमा सानो भएपनि उत्कृष्ट खेल प्रदर्शन गर्नेमा विश्वास व्यक्त गरे । उनले क्यानले पछिल्लो समय गर्दै आएको कामप्रति धन्यवाद व्यक्त गर्दै विद्यालय स्तरदेखि नै खेलाडी उत्पादन गर्नका लागि विद्यालय हरुसँग पनि सहकार्य गर्न सकिने बताए ।
सिनियर महिला टिमकी कप्तान इन्दु बर्माले विश्वकपमा छनोट भएर इतिहास रचेकोमा बधाई दिँदै विश्वकपमा पनि उत्कृष्ट प्रदर्शन गरेर आउन शुभकामना दिइन् । नेपाली यू-१९ महिला टिम शनिबार दिउँसो मलेसिया प्रस्थान गर्ने छ ।

.gif)