स्याङ्जा कारागारमा बनाइएका मुढा चीन निर्यात हुँदै
काठमाडौं । स्याङ्जा कारागारमा बनाइएका मुढा चीन निर्यात गरिने भएको छ । चीनको एक संस्थाले जिल्ला कारागारसँग झन्डै ३ हजार मुढाको माग गरेको छ । सोही मागअनुसार तत्काल १ हजार ५ सय मुढा चीन निर्यात गर्न लागिएको जिल्ला कारागार स्याङ्जाका निमित्त जेलर दिनेश शर्माले जानकारी दिए ।
मुढा लिनका लागि चिनियाँ संस्था कारागारमै आउने पनि कारागार प्रशासनले जनाएको छ । जिल्ला कारागारमा अहिले ६ महिलासहित १४७ जना कैदीबन्दी छन् । १३५ पुरुष कैदीबन्दीले मुढा बनाउने काम गरेको निमित्त जेलर शर्माले बताउनुभयो । कारागारमा रहेका ६ जना महिलाले भने मुढा नबनाउने प्रशासनको भनाइ छ । जिल्ला कारागारभित्र गठन गरिएकोसमितिले नै मुढा बनाउन आवश्यक पर्ने सामान उपलब्ध गराउँछ ।
मुढा बनाउँदा लाग्ने खर्च, सामग्री र आम्दानी हिसाबकिताब गर्न कैदीबन्दी र अन्य कर्मचारीसहित समिति बनाइएको जेलर शर्माको भनाइ छ । समितिले सामान खरिद गर्नेदेखि मुढाको मूल्य निर्धारण गर्ने र बिक्री गरेपछि आउने आम्दानीलाई कोष बनाएर जम्मा गरिन्छ । कोषमा जम्मा भएको रकम कैदीबन्दीलाई बाँडफाँट गरिनेछ । चीन निर्यात गरिने मुढाको मूल्य प्रतिगोटा ४ सय रुपैयाँ निर्धारण गरिएको छ ।

.gif)