नेपाली क्रिकेटका अलराउण्डर ऐरी जय ट्रफी मेन्स एलिट कप प्रतियोगिता नखेल्ने, युएइमा हुने अन्तर्राष्ट्रिय लिग टी ट्वान्टीमा सहभागी हुँदै
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले आगामी साताबाट सुरु हुने जय ट्रफी मेन्स एलिट कप प्रतियोगितामा सहभागी हुन नपाउने भएका छन् । ऐरी युएईमा आयोजना हुने अन्तर्राष्ट्रिय लिग टी ट्वान्टीमा सहभागी हुन शुक्रबार त्यसतर्फ जाने भएकाले एलिट कप गुमाउने भएका हुन् ।
दीपेन्द्र नेपालका घरेलु प्रतियोगितामा विभागिय टोली नेपाल पुलिस क्लबको कप्तान हुन् । दीपेन्द्रलाई आइएल टी ट्वान्टीको साविक विजेता गल्फ जायन्ट्सले यस संस्करणको लागि रिटेन गरेको हो । आइएल टी ट्वान्टी प्रतियोगिता पुस २७ गतेबाट सुरु हुनेछ । दीपेन्द्र गत संस्करण नामिबियाका कप्तान जेहार्ड एरास्मसको स्थानमा टिममा अनुबन्धित भएका थिए ।
गत संस्करण जायन्ट्स च्याम्पियन भए पनि दीपेन्द्रले कुनै पनि खेलमा मौका पाएनन् । यो संस्करणको आइएल टी ट्वान्टीमा नेपालका अर्का अलराउण्डर कुशल मल्ल पनि डेजर्ट भाइपर्स टिममा अनुबन्ध भएका छन् । ऐेरीले घरेलु प्रतियोगितामा सहभागी हुन नपाएपनि आइएल टी ट्वान्टीमा राम्रो राम्रो प्रदर्शन गर्ने बताएका छन् । उनले हालै सम्पन्न एनपीएलमा जस्तै सुखद नतिजा दिनका लागि आफूले प्रयास गर्ने प्रतिक्रिया दिए ।

.gif)