स्याङ्जामा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते
काठमाडौं । स्याङ्जाको कालीगण्डकी गाउँपालिका-३ मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । बाराको गढीमाई नगरपालिका-११ बस्ने अन्दाजी २२ वर्षीय सब्दुल अन्सारीको मृत्यु भएको हो ।
कालीगण्डकी-३ को बिर्घा-मिर्मी पक्की भित्री सडक खण्डमा आलमबाट बिर्घातर्फ जाँदै गरेको लु ४ त ७८३१ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट झण्डै ४० मिटर तल खस्दा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिरक-डसना बनाउने मेसिन जोडेको ट्याक्टर दुर्घटनामा परी बाराको कलैया उपमहानगरपालिका-१० का २४ वर्षीय अर्जुन शाह र कलैया-११ का २६ वर्षीय सलाम मुदिन मन्सुरी गम्भिर घाइते छन् । दुबै जनाको कालिगण्डकी अस्पताल मिर्मी स्याङ्जामा सामान्य उपचार पश्चात थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको प्रहरीले जनाएको छ । गढीमाई नगरपालिका-११ का १४ वर्षीय सिकिन्दर यादब भने सकुशल रहेका छन् ।

.gif)