एनपीएल : लुम्बिनीको लगातार चौथो हार, जनकपुर १ रनले विजयी
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले चौथो हार व्यहोरेको छ । आइतबार भएको खेलमा जनकपुर बोल्ट्सले लुम्बिनीलाई १ रनले पराजित गरेको हो ।
जनकपुरले दिएको १३७ रनको सामान्य चुनौती पनि लुम्बिनीले भेट्टाउन नसकेको हो । जनकपुरले ९ विकेटको क्षतिमा पूरै २० ओभर खेल्दै १३६ रन बनाएको थियो ।त्यसलाई पछ्याउने क्रममा पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १३५ रनमा समेटिँदा १ रनको हार भोगेको हो । लुम्बिनीका लागि अन्तिम ओभरको अन्तिम बलमा २ रन चाहिएको थियो । तर सन्दीप जोराले बाउन्ड्री हान्ने क्रममा क्याच आउट हुन पुग्दा चौथो खेलमा पनि लुम्बिनी निराश हुन पुगेको हो ।
पराजित लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । त्यसैगरि टोम मुरेको नाममा ३१ रन रह्यो । उता अर्जुन साउदले २० र सन्दीप जोराले १६ रन बनाए । लुम्बिनीलाई चौथो हार चखाउने क्रममा जनकपुरका लागि हर्ष थकेर एक्लैले ५ विकेट लिन सफल भए । किशोर महतो, ललित राजवंशी र शेर मल्लले १र१ विकेट लिए ।
लगातार तीन खेलमा पराजित भएको लुम्बिनीले आजको खेलमा चमत्कारिक बलिङ गर्दै जनकपुरलाई सस्तैमा समेटेको थियो । तर बलिङमा कमब्याक गरेको लुम्बिनी ब्याटिङमा जम्न नसक्दा लगातार निराशाको सामना गर्न विवश भएको छ । पहिले ब्याटिङ गरेको जनकपुरका लागि कप्तान अनिल शाह ५ रनले अर्धशतक बनाउन चुके। उनले एक चौका र चार छक्का हिर्काएर ४५ रन जोडे।
उनी सन्दीप जोराको बलमा क्याच आउट भए। जनकपुरका अर्का ओपनर आशिफ शेख १० बलमा १६ रन बनाएर आउट भएका थिए । लाहिरु मिलन्था २३ बलमा २४ रन बनाएर आउट हुँदा तीन बल खेलेका हर्ष ठाकरले एक रन बनाउँदा जिमी निशमले दुई बलमा एक रन मात्र जोड्न सके। मोहम्मद मोसिन पाँच बलमा तीन रन बनाएर आउट हुँदा श्री मल्ल शून्यमा आउट भए ।
कसिलो बलिङ गरेको लुम्बिनीका लागि अभिषेक गौतमले तीन विकेट लिँदा कप्तान रोहित पौडेल र साद बिन जफरले दुईदुई विकेट लिए। उसका लागि सन्दीप जोराले एक/एक विकेट हात पारे ।

.gif)