काठमाडौं आउँदै गरेको कन्टेनर चुरियामाई उकालोमा पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
काठमाडौं । मकवानपुर र बाराको सिमानामा कन्टेनर पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । हेटौंडा उपमहानगरपालिका-१५ चुरियामाईको उकालोमा प्रदेश-२-०३-००१ ख ६७८० नम्बरको मालबाहक कन्टेनर पल्टिँदा सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।
मोबिल बोकेको कन्टेनरले बाटो वारपार पूरै ढाकेको छ । कन्टेनर वीरगञ्जबाट काठमाडौं जाँदै थियो । दुर्घटनामा कन्टेनर चालक मनहरी गाउँपालिका-६ बस्ने ३० वर्षीय महेश मोक्तान घाइते भएका छन् । उनको दाहिने हातमा चोट लागेकाले उपचारका लागि हेटौंडा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
चुरियामाईको उकालोमै कन्टेनर पल्टिएकाले वैकल्पिक सडक प्रयोग गरेर आउ–जाउ गर्ने अवस्था पनि छैन । कन्टेनरलाई पन्छाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

.gif)