छठ पर्वको अवसरमा प्रचण्डले दिए शुभकामना
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले छठ पर्वका अवसरमा तराईवासी जनसमुदायका साथै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
पर्वका अवसरमा उनले आज एक शुभकामना सन्देश जारी गर्दै छठ पर्वले चुनौतीहरूलाई अवसरमा बदल्न, व्यक्तिगत एवं सामाजिक जीवनमा आशाको रक्तसञ्चार भर्न, राष्ट्रलाई एकताबद्ध तुल्याउँदै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको बाटोमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् । नेपालका विविध संस्कृति र पर्वहरू क्रमशः सम्पूर्ण नेपालीका साझा संस्कृति र परम्परा बन्दै गएको उल्लेख गर्दै उनले छठ पर्व पनि सम्पूर्ण नेपालीहरूकै आम पर्वको रूपमा मनाउन थालिएको जनाएका छन् ।
उनले छठ पर्व प्रकृति र मानव जीवनबीच जीवन्त व्यवहारिक सम्बन्ध स्थापित गर्ने पर्वका रूपमा रहेको बताएका छन् । मानव जीवन कृषि युगमा प्रवेश गरेपछि उत्पादित कृषिजन्य उपज र परिकारहरूको खुसियाली एवं कृषि युगको निरन्तरताको प्रतीकका रूपमा सूर्यको आराधना गरी छठ पर्वको परम्परा सुरुवात भएको सन्देशमा उल्लेख छ ।

.gif)