sevenstartv.com ९ पुष २०८२, बुधवार

मिथिलाञ्चलमा भैयादुज पर्व मनाइँदै

१८ कार्तिक २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । मिथिलाञ्चलमा आज भैयादुज पर्व मनाइँदै छ । मिथिलाञ्चलमा दिदीबहिनीले आज आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै भैयादुज पर्व मनाउँछन् । कात्तिक शुक्ल द्वितीया तिथिमा दिदीबहिनीले दाजुभाइलाई बोलाएर पूजा गर्ने मैथिल परम्परा छ । मिथिलामा यस पर्वलाई भैयादुज, भरद्वितीया र भातृद्वितीया पनि भन्ने चलन छ । यो पर्वमा विवाहित दिदीबहिनीले दाजुभाइलाई आफ्नै घरमा आउन निम्ता गर्छन् । अविवाहित दिदीबहिनी र दाजुभाइको एउटै घर हुने हुँदा स्वनिवासमै यो पर्व मनाउने परम्परा छ ।

विवाहित दिदीबहिनीको निम्ता मान्न दाजुभाइ नयाँ वस्त्र, आभूषण कोसेली लिएर जाने गर्छन् । पर्वमा दिदीबहिनीले घरमा पिठार (पानीमा घोलिएको अरवा चामलको पिठो) ले अरिपन (चतुष्कोण घेरा) बनाएर त्यो सीमाभित्र काठको पिरामा दाजुभाइ बसाउँछन् । यसपछि दाजुभाइलाई पिठार, पानको पात र सुपारी राखी दिएर दिदीबहिनीले सप्तरङ्गी टिका लगाइ दिने मैथिल परम्परा रहेको मिथिलाका प्रसिद्ध साहित्यकार डा. राजेन्द्र विमल बताउनुहुन्छ ।

मिथिलाञ्चलमा भैयादुज पर्व हर्षोल्लास र खुसीका साथ मनाउने गरेको र यस पर्वले दिदीबहिनी तथा दाजुभाइको सम्बन्ध अझै प्रगाढ बनाउने गरेको जलेश्वर नगरपालिका—१ बाबा जलेश्वरनाथ महादेव मन्दिरका मुख्य पूजारी उपेन्द्र पाठकले बताउनुभयो ।    

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्