sevenstartv.com ९ पुष २०८२, बुधवार

चाडपर्वले सामाजिक एकतालाई अझ मजबुत बनाएको छ: सभापति देउवा

१५ कार्तिक २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाले चाडपर्वले सुमधुर र सौहार्दपूर्ण सम्बन्ध विकास गर्न सघाएको बताएका छन् । तिहार तथा नेपाल संवत्को ११४५ का अवसरमा सबै नेपालीमा सुख, शान्ति, सुस्वास्थ, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै उनले चाडपर्वले सामाजिक एकतालाई अझ मजबुत बनाएको बताएका हुन् ।

उनले नेपालमा विभिन्न जातजाति, भाषाभाषी, धर्म, विभिन्न चाडपर्व एवं विभिन्न संस्कृति भएको र यसले हामीमा निहित बन्धुत्व भावको विविधताका बीचमा पनि अनुपम एकता कायम गरेको सन्देशमा उल्लेख गरेका छन् ।

उनले शुभकामना सन्देशमा भनेका छन्,'तिहारले पनि हामीबीचको एकतालाई अझ मजबुत बनाएको छ । यमपञ्चकका हरेक दिनले समस्त नेपालीहरुमा नयाँ उमङ्ग सिर्जना गर्न, दिदीबहिनी र दाजुभाइबीच तथा आफन्तबीचमा सुमधुर र सौहार्द सम्बन्ध विकसित गर्न सघाएको छ ।'

त्यसैगरी, बागमती सभ्यतालाई नेपालको भाषा, साहित्य, कला र संस्कृतिको उत्थान काल मानिन्छ । नेपाल संवत् त्यही जागरणकालको इतिहास र संस्कृतिको एक जीवन्त धरोहर भएको सन्देशमा उनले उल्लेख गरेका छन् । सभापति देउवाले नेपाल संवत्को नयाँ दिनले हरेक वर्ष हामी सबैलाई यसका प्रणेता शङ्खधर साख्वाःको योगदानलाई सम्झाउने बताए । यसको प्रचलन तिनै समाजसेवी साख्वाः ले सबैको ऋण मोचन गरिदिएको अति परोपकारी कार्यको सम्झनामा भएको हो । सभापति देउवाले शङ्खधर साख्वाःलाई उनको उदारताको कदर गरेर, हामीले राष्ट्रिय विभूतिको रुपमा सम्मान गरेको उल्लेख गरेका छन् । 
 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्