मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्री पौडेलकाे आग्रह
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मातृभूमिको विकासका निम्ति लगानी गर्न आग्रह गरेका छन् ।
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा अमेरिकामा रहेका मन्त्री पौडेलले नेपाली राजदूतावासले प्रवासी नेपालीसँग आयोजना गरेको छलफलमा सरकारले देशविकासलाई केन्द्रमा राखेर काम गरिरहेको भन्दै त्यसमा सघाउन प्रवासी नेपालीलाई आग्रह गरेका हुन् ।
‘वर्तमान सरकारको उद्देश्य जनचाहनाअनुसार विकास गर्दै समृद्धिको मार्गमा अघि बढ्नु हो, त्यहीअनुरूप काम गरिरहेका छौँ’ उनले ऊर्जा, पर्यटन, सूचना प्रविधिलगायत क्षेत्रमा लगानीका पर्याप्त अवसर भएकाले यहाँ आर्जन गरेको सीप, पुँजी र ज्ञानलाई नेपालमा उपयोग गर्न सुझाव दिएका छन् ।
लगानीकर्तालाई सरकारले प्राथमिकताका साथ सहजीकरण गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । अर्थमन्त्री पौडेलले सहभागीका जिज्ञासाको जवाफ दिँदै नेपालमा लगानीको वातावरण र प्रतिफल प्राप्तिको सुनिश्चितता भएकाले ढुक्क भएर लगानी गर्न आह्वान गरेका छन् ।

.gif)