sevenstartv.com ५ पुष २०८२, शनिवार

साफ वुमन्स च्याम्पियनसिपमा नेपालले भुटानसँग आज पहिलो खेल खेल्दै

२ कार्तिक २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । गोल मेसिन भनेर चिनिएकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ विना नै नेपालले घरेलु मैदानमा भइरहेको साफ वुमन्स च्याम्पियनसिप(२०२४ मा भुटानसँग आज पहिलो खेल खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ ।

भुटानविरुद्ध लगातार गोल गर्दै आएकी साम्बा फ्रेन्च महिला लिगमा व्यस्त रहेकोले उनले पहिलो खेल गुमाउने भएकी हुन् । यसअघि साफ च्याम्पियनसिपमा भुटानसँग खेलेको हरेक खेलमा सावित्राले गोल गरेकी थिइन् । नेपालका लागि ४६ खेल खेल्दै सावित्राले सर्वाधिक ५३ गोल गरेकी छन् ।तुलनात्मक रुपमा नेपालभन्दा भुटान कमजोर भएपनि पछिल्लो समय भुटानको फुटबलले प्रगति गरिरहेको छ । साम्बा नहुँदा नेपालका अन्य खेलाडीका लागि राम्रो प्रदर्शन गर्ने र गोल गर्ने अवसर हुनेछ ।

युएईको अबुधाबी कन्ट्री क्लबबाट एएफसी वुमन्स च्याम्पियन्स लिग खेलेर आएकी रेखा पौडेल र रश्मि कुमारी घिसिङले नेपालको फरवार्ड लाइन सम्हाल्ने सम्भावना छ ।

नेपालले यसअघि ६ संस्करणमध्ये चारपटक भुटानसँग खेलेको थिए । जसमा सबै खेल नेपालले जितेको छ । सन् २०१४ मा पाकिस्तानमा भएको तेस्रो साफमा नेपालले भुटानलाई ८(० ले पराजित गरेको थियो । त्यसै खेलबाट साम्बाले नेपालको लागि डेब्यु गरेकी थिइन् र एक गोल गरेकी थिइन् । यस्तै सन् २०१६ मा भारतको सिलीगुरीमा भएको चौथो साफमा साम्बाले दोहोरो ह्याट्रिक गर्दा नेपालले भुटानलाई ८(० ले नै पराजित गरेको थियो ।

सन् २०१९ मा विराटनगरमा भएको पाँचौ साफमा नेपालले भुटानलाई ३(० ले पराजित गरेको थियो । जहाँ साम्बाले एक गोल गरेकी थिइन् । पछिल्लो पटक सन् २०२२ मा दशरथ रंगशालामै भएको छैटौं साफमा साम्बा र अनिता बस्नेतले दुई(दुई गोल गरेपछि नेपालले भुटानलाई ४(० ले पराजित गरेको थियो ।

साफमा नेपालले भुटान विरुद्ध अहिलेसम्म कुनै गोल खाएको छैन भने २३ गोल गरेको छ ।

नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपमा भुटानसँग नहारेपनि नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले भुटानलाई हल्का लिएर नखेल्ने बताएका थिए । ‘भुटानको टिममा धेरै सुधार भएको छ । हाम्रो समूहमा भुटान श्रीलंका र माल्दिभ्स छन् । हामी एकपटकमा एक खेललाई लिएर अघि बढ्नेछौँ । सबै टिम राम्रो छ,’ तामाङले प्रिम्याच कन्फ्रेन्समा भनेका थिए ।

प्रशिक्षक तामाङ र कप्तान एन्जिला तुम्बापो सुब्बाले यस पटक जसरी पनि उपाधि जित्ने लक्ष्यका साथ खेल्ने र त्यसका लागि आफ्नो टोली तयार रहेको बताएका छन् ।

कप्तान एन्जिलाले सातदोबाटोको एस्ट्रो टर्फमा प्रशिक्षण गरेर दशरथ रंगशालको घाँसे मैदानमा खेल्ने केही कठिन हुने सक्ने बताएकी थिइन् । यस्तै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न पाएको भए टिम अझ राम्रो हुने उनको भनाइ थियो ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्