दसैंका लागि मात्र साढे २ अर्बभन्दा बढी सुकिला नोट सटही
काठमाडौं । सर्वसाधारणले पछिल्लो १० दिनमा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार र सात वटै प्रादेशिक कार्यालयबाट मात्र करिब १ अर्ब ३१ करोड रुपैयाँ बराबरका सुकिला नोटको सटही सुविधा लिएका छन् । यस अवधिमा बैंक तथा वित्तीय संस्थाले पनि सर्वसाधारणलाई नोट सटही सुविधा दिएका छन् । त्यो रकम पनि जोड्दा दसैंका लागि मात्र साढे २ अर्बभन्दा बढी सुकिला नोट सटही भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले बताउनुभयो ।
प्रवक्ता पौडेलका मंगलबारसम्म राष्ट्र बैंकको केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयमार्फत सर्वसाधारणले १ अर्ब ३१ करोड रुपैयाँ बराबरका सुकिला नोटको सटही सुविधा लिएका छन् । राष्ट्र बैंकको केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालय तथा वाणिज्य बैंकहरूमार्फत सटही भएको नोटको रकम जोड्दा साढे २ अर्बभन्दा बढी हुने प्रवक्ता पौडेललेको भनाई छ ।
दसैंका लागि राष्ट्र बैंकले यही असोज १३ देखि २३ गतेसम्मका लागि नोट सटही सुविधा दिएको थियो । तिहार र छठका लागि दसैं बिदापछि पुनः वितरण गरिने राष्ट्र बैंकले जनाएको छ । नोट सटहीका लागि केन्द्रीय कार्यालय बालुवाटारमा मात्र राष्ट्र बैंकले ८ वटा काउन्टर बनाएको छ । यद्यपि भीड कम भएकाले हाल ६ वटा मात्र सञ्चालनमा छन् । ६ वटा काउन्टरबाट सर्वसाधारणले सहज रूपमा नोट सटही सुविधा लिइरहेको राष्ट्र बैंकका प्रवक्ता पौडेलको भनाइ छ ।

.gif)