sevenstartv.com १६ असार २०८३, मङ्गलवार

आजका प्रमुख सात समाचार

१६ असोज २०८१, बुधवार स्टार संवाददाता

काठमाडाैं । 

नाम अनुमोदन

संसदीय सुनुवाई समितिले प्रश्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नाम अनुमोदन गरेको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गरेको हो । बैठकपछि समितिका ज्येष्ठ सदस्य सभापति आनन्दप्रसाद ढुंगानाले सुनुवाई समितिले राउतको नाम सर्वसम्मत अनुमोदन गरेको बताए । 

गत भदौ ३१ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश राउतलाई भावी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । प्रधानन्यायाधीशका लागि सुनुवाई समितिबाट अनुमोदन रहेकाका राउत २०७१ साउन १७ मा सर्वोच्चमा न्यायाधीश नियुक्त भएका थिए ।  समितिले आजको बैठकबाटै अस्टे«लियाका लागि प्रश्तावित राजदुत चित्रलेखा यादवको नाम पनि अनुमोदन गरेको छ ।

अख्तियार छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयबाट केही कागजातहरु बरामद गरेको छ । प्राधिकरणमा अनियमितता भएको आशंकामा अनुसन्धान गरिरहेको टोलीले प्राधिकरणबाट केही महत्वपूर्ण कागजात लिएको हो । 

भवन निर्माणको अनियमिततावारे उजुरी अनुसन्धानको सिलसिलामा कागजात माग गरिएपनि उपलब्ध नगराएपछि छापा मारेर कागजात लिएको अख्तियारले जनाएको छ । अनियमिततामा संलग्न भएको आशंकामा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ । संसदको सार्वजनिक लेखा समितिले पनि प्राधिकरणका परियोजनामा भएको अनियमितताको उजुरीमाथि छानबिन गरिरहेको छ ।।

खानेपानीमन्त्री

खानेपानीमन्त्री प्रदीप यादवले मनसुन सफा भएसँगै मेलम्चीको पानी काठमाडौंमा पथान्तरण हुने बताएका छन् । जल तथा मौसम विज्ञान विभागले अबको दुई÷तीन दिन भारी वर्षा हुने पूर्वानुमान गरेकाले मौसम सफा भएसँगै केही दिनभित्र मेलम्चीको पानी काठमाडौंमा वितरण गरिने बताएका हुन् । 

उनले २०७६ सालको बाढी, पहिरोले गर्दा मेलम्चीमा ठूलो क्षति भएको र त्यसबाट स्थानीयहरु त्रसित रहेकाले केही समस्या रहेपनि सरकारले चाँडै स्थानीयका समस्या समाधान गरी काठमाडौंका नागरिकलाई पानी वितरण गर्ने जानकारी  दिए । उनले मेलम्चीको पानी खोल्ने बित्तिकै काठमाडौं उपत्यकामा पानीको समस्या समाधान हुने उल्लेख गरे । स्थानीयका माग सम्बोधनका लागि मन्त्रालयका कर्मचारीहरु मेलम्ची पुगिसकेको बताएका छन् । 

स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पानीको शुद्धिकरण गरी वितरण गर्न आवश्यक भएको बताएका छन् । उपत्यकाका मेयर फोरमसँगको छलफलमा उनले खानेपानी मन्त्रालयसँग समन्वय गरी साझा विषयमा काम अघि बढाउने बताएका हुन् । 

उनले विपद्को बेलामा खानेपानी शुद्ध नभए त्यसले निम्त्याउने जोखिम डरलाग्दो हुने भन्दै खानेपानी शुद्ध भए÷नभएको परीक्षण गर्ने संयन्त्र बनाइ अनुगमनको विषयलाई प्रभावकारी बनाइने बताए । उनले पानीको शुद्धिकरणका लागि सरकारबाट परिचालन गर्ने संयन्त्र र आवश्यक पर्ने साधन, श्रोतहरुको व्यवस्थापन गर्ने बताएका छन् । उनले शुद्ध पानी पिउन र उमालेर मात्रै पानी पिउनका लागि जनचेतना फैल्याउनुपर्ने बताए । 

समाजवादीमा असन्तुष्टि

नेकपा एकीकृत समाजवादीका सांसदहरूले आफूहरूसँग छलफल नै नगरी बाढीपहिरो प्रभावितको सहयोगार्थ १५ दिनको तलब दिने घोषणा गरेको भन्दै असन्तुष्टि जनाएका छन् । समाजवादीका सांसदहरूले दलको बैठकै नबसी १५ दिनको तलब दिने सचेतक मेटमणि चौधरीले घोषणा गरेको भन्दै असन्तुष्टि जनाएका हुन् । उपमहासचिव समेत रहेका सचेतक चौधरीले बुधवार वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पार्टी र दलको निर्णय अनुसार सांसदहरूका तर्फबाट १५ दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणासहितको पत्र संसद् सचिवालयमा बुझाउनु भएको थियो । 

तर सो पार्टीका सांसदहरूले भने सचेतकको उक्त घोषणा आफूखुसी भएको भन्दै असन्तुष्टि जनाएका हुन् । उनीहरुले पार्टी अध्यक्ष समेत काठमाडौँ उपत्यका बाहिर भएका बेला कसरी यस्तो निर्णय भयो भनेर आश्चर्यमा परेको बताएका छन् । पार्टी र दलको बैठक बसेर छलफल भएको भए बाढी प्रभावितका लागि एक महिनाकै तलब दिन सक्ने उनीहरुको भनाई छ । तर दलको बैठक नबसी निर्णयको हवाला दिएर चौधरीले पत्र लेख्नु किर्ते भएको सांसदहरुले बताएका छन् ।

अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीहरुको २० अर्ब रुपैयाँ भुक्तानी भएको बताएका छन् ।  निर्माण व्यवसायी महासंघको ध्यानाकर्षणपत्र बुझ्दै अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीहरुले निर्माण सम्पन्न गरेका आयोजनाहरुको भुक्तानी दायित्व राज्यले तत्काल निकासा गर्ने प्रतिवद्धता अनुरुप नै निरन्तर रुपमा भुक्तानी भइरहेको बताएका हुन् । 

उनले अहिले पनि प्रक्रिया पूरा गरेर आएका निर्माण व्यवसायीहरुको भुक्तानी नरोकिएको दाबी गरे । उनले निर्माण व्यवसायीहरुले पाउनुपर्ने सबै दायित्व नपाएको स्वीकार गरे । उनले निर्माण सम्पन्न भएका कामको भुक्तानीको लागि बजेट कार्यान्वयनको बुँदा ५० ले व्यवस्था गरेअनुसार भुक्तानीलाई निरन्तरता दिने बताएका छन् । उनले निर्माण व्यवसायीहरुले सरकारबाट पाउनुपर्ने भुक्तानी दशैँअघि नै गर्ने प्रयासमा रहेको बताए । उनले भुक्तानी गर्नुपर्ने दायित्व धेरै भएपनि बजेट कम भएको विषयमा सरकारको प्राथमिकतामा रहेको बताएका छन् । 

गुटरेसलाई प्रतिबन्ध

इजरायलले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ । इजरायली विदेशमन्त्री इसराइल काट्जले ट्वीट गर्दै गुटरेसलाई देश प्रवेशमा रोक लगाइएको बताएको बीबीसीले जनाएको छ । इजरायलमाथि इरानको जघन्य आक्रमणको स्पष्ट निन्दा गर्न नसक्ने जो कोहीलाई इजरायली भूमिमा पाइला टेक्ने अधिकार नभएको इजरायलका विदेशमन्त्री काट्जले भनाई छ । 

गत वर्षको अक्टोबर ७ तारिखमा हमासले इजरायलमा १२ सय भन्दा धेरैको हत्या गरेको घटनामा पनि संयुक्त राष्ट्रसङ्घका महासचिव गुटरेसले हमासलाई आतङ्कवादी सङ्गठन घोषणा गर्ने कुनै प्रयास नगरेको भन्दै इजरायलले आपत्ति जनाएको छ । इजरायलले एन्टोनियो गुटरेसको सहयोगविना पनि आफ्ना नागरिकको रक्षा गर्न र राष्ट्रिय सम्मानको रक्षा गर्न सक्ने जनाएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्