ऊर्जामन्त्री खड्का र नर्वेका राजदूत द्रामदलबीच भेट
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नर्वेका राजदूत तोरन द्रामदलबीच शिष्टाचार भेट भएको छ । भेटका क्रममा उनीहरूबीच नेपाल–नर्वे सम्बन्धका साथै आपसी हित र चासोका विषयमा छलफल भएको थियो ।
नर्वे नेपालको महत्वपूर्ण विकास साझेदार भएको तथा ऊर्जा क्षेत्रमा ६० वर्षभन्दा बढी समयदेखि नर्वे सरकारको सहयोग रहेको मन्त्री खड्काले बताए । दिगो ऊर्जा र आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न तथा जलविद्युत् उत्पादनमा नर्वे सरकारको योगदान अमूल्य रहेको भन्दै मन्त्री खड्काले त्यसको सराहना गरे ।
नेपालको जलविद्युत्, प्रशारण र वितरणमा रोजगारीका लागि तालिम कार्यक्रम, सिभिल, इलेक्ट्रिकल र हाइड्रोमेकानिकल क्षेत्रमा स्थानीय विशेषज्ञता विकास गर्न नर्वेको सहयोगले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । तिनाउ, आँधीखोला, झिम्रुक, खिम्ती, माथिल्लो तामाकोशीलगायत ठूला जलविद्युत् आयोजना र लघु जलविद्युत् आयोजना निर्माणमा नर्वे सरकारको सहयोग छ ।
राजदूत द्रामदलले नेपालको जलविद्युत् क्षेत्रको विकासका लागि नर्वे सरकारको सधैँ साथ र सहयोग रहने बताए । उनले नेपाली विद्यार्थीलाई नर्वेमा जलविद्युतसम्बन्धी उच्च शिक्षा अध्ययनार्थ छात्रवृत्ति प्रदान गर्दै आएको उल्लेख गरे। उनले आगामी दिनमा प्रशारण लाईनको विकासमा समेत नर्वे सरकारले सहयोग गर्ने बताए ।






