sevenstartv.com १६ असार २०८३, मङ्गलवार

बीपी राजमार्ग दशैंअघि नै खुलाउने प्रयास

१५ असोज २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । रोशीको बाढीले बगाएको राजमार्ग अन्तर्गतको भकुण्डेतर्फको मंगलटारमाथि खुर्कोट सडकखण्ड पुन: निर्माणका लागि सडक विभागले काम थालेको छ । चारवटा डोजर लगाएर सडकमा अस्थायी व्यवस्था गर्न खोजिए पनि दशैंअघि सम्भव नहुने देखिएको छ ।

खुर्कोट सडक डिभिजन कार्यालयका सूचना अधिकारी प्रदीप तामाङले खुर्कोटको पुल भत्केको र नेपालथोकदेखि माथि भकुण्डेबेँसी आसपास २.५ किलोमिटर सडकमा क्षति पुगेको बताए । मान्छेसमेत हिँड्नसक्ने अवस्था नरहेको उनले बताएका छन् । नेपालथोकबाट बर्दिबाससम्म जान कुनै समस्या छैन ।  नेपालथोकबाट सिन्धुली र काभ्रेको २.५ किलोमिटर सडक बाढीले बगाएका कारण कुनै पनि सवारी साधन जान सक्ने अवस्था छैन ।

सडक विभागका महानिर्देशक रामहरी पोखरेलले मान्छेसमेत जान नसकिने अवस्थामा रहेको उक्त ठाउँको मर्मत कार्यका लागि ४ वटा डोजरले काम गरिरहेको बताए । धुलिखेलबाट करिब ३४ किलोमिटरको दूरीमा रहेको चौकीडाँडा भन्ने ठाउँमा २ वटा डोजर लगेर बाटो मिलाउँने काम भइरहेको छ । मंगलटारबाट पनि २ वटा मेसिनले काम गरिरहेको महानिर्देशक पोखरेलले बताए ।

पोखरेल भन्छन, ‘हामीले दशैँअघि नै अस्थायी संरचना बनाएर आवत जावत गर्न सकिने बनाउन खोजेका छौं । तर, सकिएला जस्तो छैन । पहिला अस्थायीबाट काम चलाएर पछि बजेट नै विनियोजन गरेर स्थायी मर्मत गर्छौं ।’ बीपी राजमार्गको नेपालथोक-खुर्कोट सडकखण्डको विभिन्न स्थानमा पहिरो खसेर, केही ठाउँमा सुनकोसी नदीले कटान गरेर र कतै सडक भासिएर यातायात ठप्प भएको थियो ।

रोशी खोला र सुनकोसी नदीमा आएको बाढीपहिरोका कारण सुनकोशी गाउँपालिका-७ कानढुङ्ग्री, वडा नम्बर-१ को नेपालथोक, आँपघारी, भ्याकुरेखोला, बर्खेखोला, घ्याम्पेखोला लगायतका दर्जनौँ स्थानमा बाढी र पहिरोले राजमार्गलाई क्षतविक्षत बनाएको थियो ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्