विद्युत आयोजनामा क्षती पुगेपछि आयातको अवस्था आयो : घिसीङ
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसीङले बाढी, पहिरोको कारण अपर तामाकोशीमा पुगेको क्षतिले सुख्खायाममा बढी विद्युत आयात गर्नुपर्ने अवस्था आउने बताएका छन् । उनले ४५६ मेगावटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना हेडबक्सको कन्ट्रोल विल्डिङ पूर्णरुपमा ध्वस्त भएको बताएका हुन् ।
उनले अहिलेसम्म आयोजनामा भएको क्षति यकिन गर्न नसकिएको बताए । घिसिङले विद्युत क्षेत्रमा काम गर्ने सुरक्षाकर्मीसहित चार जना बेपत्ता भएको बताएका छन् । उनले अपर तामाकोशीको क्षतिको कारण लामो समयसम्म पुनःनिर्माण गर्न नसके यस वर्षको सुख्खायाममा विद्युत व्यवस्थापनमा केही समस्या आउनसक्ने बताए । उनले हिउँदको समयमा बढी विद्युत आयात गर्नुपर्ने अवस्था आउने उल्लेख गरे ।
उनले क्षति पुगेका जलविद्युत आयोजनाहरुमा छिटो भन्दा छिटो रि स्टोर गर्ने तयारीमा प्राधिकरण लागेको बताए । उनले खिम्तिदेखि ढल्केवर २२० केवी लाइनले करिव ८ सय मेगावट पावर सप्लाई गर्ने टावरतिर तामाकोशी नदी बगिरहेकाले खतरामा रहेको बताएका हुन् । उनले उक्त टावर क्षति भए ८ सय सय मेगावाटको लिखु र तामाकोशी करिडोर बन्द हुने बताए । उनले चमेलिया करिडोरमा पनि केही क्षति भएको बताएका छन् ।






