आजका प्रमुख सात समाचार
काठमाडौं ।
सर्वोच्च अदालत
न्यायपरिषदले सर्वोच्च अदालतको न्यायधीशमा दुईजनाको नाम सिफारिस गरेको छ । आज बसेको परिषदको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका न्यायाधीश नित्यानन्द पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको हो ।
संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन भएमा सर्वोच्चमा सिफारिस भएका निरौला छोटो समयका लागि प्रधानन्यायाधीश बनेछन् । २०९३ पुस ६ मा टेकप्रसाद ढुंगाना अवकाश भएपछि निरौला पुगनपुग दुई महिनाका लागि प्रधानन्यायाधीशको रोलक्रममा हुनेछ । निरौला सर्वोच्च अदालतका तेस्रा मुख्यरजिष्ट्रार छन् । उनी मुख्यरजिष्ट्रारबाटै उच्च अदालतको मुख्यन्यायाधीशमा नियुक्त भएका हुन् । सर्वोच्चमा सिफारिस नित्यानन्द पाण्डेय अहिले उच्च अदालत तुलसीपुरको मुख्यन्यायाधीश छन् । उनी गत मंसीरमा उच्च अदालतको मुख्य न्यायाधीश भएका थिए ।
बारको आरोप
नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आर्थिक लेनदेनको आधारमा सर्वोच्च अदालतका दुई जना न्यायाधीश नियुक्ति गरेको आरोप लगाएका छन् । केही दिनपछि अवकासमा जान लागेका प्रधानन्यायाधीश श्रेष्ठ नेतृत्वको न्याय परिषद्को शुक्रवार बसेको बैठकले सर्वोच्च अदालतमा २ जना न्यायधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।
काठमाडौं जिल्ला अदालत बार एशोसिएशनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष घिमिरेले न्यायाधीशको सिफारिस हिसाब मिलानका लागि गरेको उल्लेख गरे ।
निरन्तरको वर्षा
पछिल्लो १२ घण्टायता देशैभर पानी परिरहेको छ । निरन्तरको वर्षाले दैनिक जनजीवनमा समस्या ल्याएको छ भने सडक अवरुद्ध हुँदा यात्रामा हिडेकाहरु अलपत्र परेका छन । पानीका कारण देशभरका मुख्यराजमार्ग सहित हवाई यात्रा समेत प्रभावित बन्न पुगेको छ ।
मेयर पक्राउ
सहकारी बचतकर्ताको रकम अपचलन गरी फरार रहेका बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ परेका छन् । प्रहरीले उनलाई भारतको नयाँ दिल्लीबाट शुक्रबार पक्राउ गरेको सीआईबीले पुष्टि गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोका सीआईबी प्रमुख एआइजी दीपक थापाले नेपालीमाथि रेड कर्नर नोटिस यसअघि नै जारी गरिएको भन्दै उनलाई पक्राउपछि नेपाल ल्याउने तयारी भइरहेको बताए ।
नेपाली बागलुङ र पोखरामा इमेज सहकारी खोलेर बचत अपचलन गरी फरार भएका थिए । इमेज सहकारीका संस्थापक अध्यक्ष रहेका नेपालीले १ हजार ५ सयभन्दा बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको भन्दै बागलुङ जिल्ला अदालतमा मुद्दा परेको थियो । यता सहकारीको रकम अपचलनबारे अनुसन्धानका लागि पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डिआईजी छविलाल जोशीलाई थप ७ दिन प्रहरी हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
गभर्नर अधिकारी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जलवायु परिवर्तनको असर न्युनिकरण गर्न नेपाललाई वाह्य वित्तीय स्रोत आवश्यक रहेको बताएका छन् ।
शुक्रबार नेपाल चार्टर्ड एकाउण्टेन्ट्सले आयोजना गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सन् २०३० सम्म दिगो विकासका लक्ष्य पूरा गर्नको लागि मात्रै पनि २० खर्ब रुपैयाँ प्रतिवर्ष खर्च गर्नुपर्ने अवस्था रहेको बताएका हुन्् ।
जलवायु परिवर्तनले पार्ने अवसरलाई न्युनिकरण गर्ने सन् २०४५ सम्म कार्वन उत्सर्जन नेट शुन्यको लक्ष्य राखिएको भन्दै त्यसको लागि मात्रै नेपाललाई करिव ४७ अर्ब डलर आवश्यकता रहेको तर्क गरे । वैदेशिक ऋण र वैदेशिक लगानी मार्फत नेपाललाई वाह्य वित्तीय स्रोत आवश्यक रहेको उल्लेख गर्दै उनले सरकारसँग मुलुकलाई समृद्ध बनाउने बताए ।
जापानमा नयाँ प्रधानमन्त्री
जापानका पूर्वरक्षामन्त्री शिगेरु इशिबा नयाँ प्रधानमन्त्री बन्ने भएका छन । सत्तारूढ ‘लिबरल डेमोक्रेटिक पार्टी’ ९एलडीपी० को नेता चुनिएसँगै पूर्व रक्षामन्त्री इशिबा जापानको नयाँ प्रधानमन्त्री बन्ने अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । शुक्रबार भएको दलको नेताको चुनावमा ६७ वर्षीय इशिबाले दुई सय १५ र उनका महिला प्रतिस्पर्धी साने ताकाइचीले एक सय ९४ मत प्राप्त गरेका थिए ।
संसदको तल्लो सदनमा सत्तारूढ एलडीपीको पूर्ण नियन्त्रण रहेको र शिगेरु इसिबा प्रधानमन्त्री बन्ने निश्चित भएको समाचारमा जनाइएको छ । जापानको लोकतान्त्रिक प्रणालीमा संसद्को तल्लो सदनलाई निकै शक्तिशाली मानिन्छ । वर्तमान प्रधानमन्त्री फुमियो किशिदाले पार्टीभित्र भ्रष्टाचारका काण्डको शृङ्खलाबीच अगस्टमा राजीनामा दिने निर्णयको घोषणा गरेका थिए । इशिबा आफ्नै पार्टीको आलोचना र विपक्षमा जाने नेताका रूपमा चिनिन्छन ।
महिला लिग
रश्मिकुमारी घिसिङले ह्याट्रिकसहित पाँच गोल गरेपछि एपिएफले शीर्ष स्थानमा रहँदै एन्फा महिला लिगको पहिलो चरण सकेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा एपिएफले बागमती युथ क्लबविरुद्ध ७-० को जित निकालेको हो ।
अपराजित रहेको एपिएफले जितसँगै ९ खेलबाट २५ अंक जोड्यो । बागमतीले भने समान खेलबाट १० अंक जोड्दै छैटौं स्थानमा रहेर लिग सक्यो ।






