अग्नि सापकोटाको मुद्दामा फैसला हुँदै
काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटा विरुद्धको मुद्दामा फैसला सुनाउने पेशी तोकिएको छ । संवैधानिक इजलासले आज सो मुद्दाको फैसला सुनाउने मिति तोकेको हो । पटक पटक सर्दै आएको यो मुद्दामा आज फैसला नभएमा पुनस् सुनवाइमा जाने सम्भावना छ ।
प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले असोज २० गते देखि अवकाश पाउने भएकाले आज नै फैसला सुनाउनुपर्ने छ । यदि आज फैसला ९निसु० सरेमा संवैधानिक इजलासले पुनः नयाँ न्यायाधीशहरुलाई पेशी तोकेर सुनुवाइ गर्नुपर्नेछ । काभ्रेका अर्जुन लामाको हत्या आरोपमा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान माग गर्दै दायर भएको रिटमा जेठ २३ गते बहस सकिएर निसु तोकिएको थियो ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले दुवै पक्षको बहसपछि निर्णय सुनाउने भनी यसअघि नै मिति तोकिएको भए पनि विविध कारणले फैसला हुन सकेको छैन । सो मुद्दामा प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशको इजलासले बहस सुनेकाले सोही इजलासले फैसला सुनाउनुपर्ने छ । गत जेठ २३ गते प्रधानन्यायाधीश श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधानमल्ल, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मी रहेको संवैधानिक इजलासले सुनुवाइ सकेर निर्णय सुनाउने मिति असार १२ गते तोकेको थियो ।
२०६९ मङ्सिरमा काभ्रेका अर्जुन लामाको हत्या आरोपमा सापकोटासहितका नेताहरूमाथि अनुसन्धान हुनुपर्ने भन्दै उनकी श्रीमती पूर्णिमाया लामाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । सर्वोच्चमा तीन थान रिट निवेदन रहेका छन् ।






