sevenstartv.com १६ असार २०८३, मङ्गलवार

आजका प्रमुख सात समाचार

७ असोज २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं ।

मेलम्ची भ्रष्टाचार

विशेष अदालतले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा दोषी ठहर भएका चार जनालाई कैद निर्धारण गरेको छ । विशेष अदालतले भदौ २५ गते मेलम्ची खानेपानी आयोजनाको अनियमितता प्रकरणमा पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जनालाई दोषी ठहर गरेको थियो  । निर्माण र परामर्शदाता चार कम्पनीसमेत दोषी ठहर हुँदा ११ जनाले अभियोगबाट सफाइ दिएको थियो । 

पूर्वसचिव भीम उपाध्याय, सञ्जय शर्मा, बहालवाला सहसचिव रुद्रसिंह तामाङलगायत ११ जनाले सफाइ पाएका थिए ।  कसुर ठहर भएकाको हकमा अदालतले आज सजाय निर्धारण गर्दै ८ वर्ष १ महिना कैद र बिगो बराबर जरिवाना गर्ने फैसला सुनाएको हो । अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सचिव ठाकुरलाई ८ वर्ष एक महिना कैद र बिगो बमोजिम जरिवाना निर्धारण गरेको हो ।

न्यायाधीश नियुक्ति

सर्वोच्च र उच्च अदालतमा रिक्त न्यायाधीश सिफारिसका लागि बसेको न्याय परिषद् बैठक विना निष्कर्ष टुङ्गिएको छ । सोमबार प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको परिषद्को बैठकमा कुनै निर्णय नगरी सकिएको हो । सर्वोच्च अदालतमा ६ र उच्च अदालतमा १६ न्यायाधीश नियुक्तिका लागि परिषद्को बैठक प्रधान न्यायाधीश श्रेष्ठले बोलाएका थिए । 

सोमबार ३ बसेदेखि ५ बजेसम्म परिषद्को बैठकमा न्यायाधीश नियुक्तिबारे छलफल गरेको थियो । परिषदमा कानुनमन्त्री अजयकुमार चौरसिया, सर्वोच्चमा न्यायाधीश प्रकाशमान सिंह राउत, रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी सदस्य छन् । आइतबार पनि परिषद् बसेको थियो । उक्त बैठकमा  निरन्तर बस्ने सहमति भएको थियो ।

छविलाल जोशी 

सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्वडीआइजी छविलाल जोशीलाई ५ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ । जोशीलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्ने कि नराख्ने भन्ने बहसपछि न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ५ दिनको म्याद थप गरेको हो । विभिन्न ५ सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा उनको पनि संलग्नता रहेको भन्दै काठमाडौंबाट पक्राउ परेका जोशीलाई आइतबार पोखरा ल्याइएको थियो । आइतबार नै पक्राउ पुर्जी जारी गरेर प्रक्राउ गरी जिल्ला अदालत कास्कीमा सोमवार उपस्थित गराइएको हो । 

सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले अध्यक्ष गितेन्द्रबाबु ९जीबी० राई, कोषाध्यक्ष कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रवन्ध निर्देशक रवि लामिछानेलाई कानून अनुसार कारबाही गर्न सिफारिस गरेको थियो । त्यही सिफारिसका आधारमा जोशीलाई पक्राउ गरिएको हो । पोखराको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा ५ करोड रूपैयाँ गएको देखिएको छ । त्यही गोर्खा मिडियाविरूद्ध कास्कीमा जाहेरी परेकाले जोशीलाई पोखरा ल्याइएको हो ।

पोखराका २२ जना सूर्यदर्शन सहकारी पीडितले गत माघ २२ गते रवि लामिछाने, दिपेश पुनसहित ४ जना र गोर्खा मिडिया प्रालिसहित १४ संस्थालाई विपक्षी बनाएर जाहेरी दिएका थिए । पीडितको जाहेरीलाई प्रहरीले पुरक जाहेरीका रूपमा लिएको थियो । जोशीलाई म्याद थपका अदालतमा उपस्थित गराउँदा खबरदारीका लागि सहकारी पीडित पनि अदालत पुगेका थिए । त्यसअघि पीडितले रवि लामिछानेलाई पनि पक्राउ गरी अनुसन्धानमा ल्याउन जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजीसहित प्रदर्शन गरेका थिए ।

बैठक स्थगित

संसदीय सुनुवाई समितिको आजको बैठक पनि स्थगित भएको छ । सोमबार श्रीलंकाका लागि प्रश्तावित राजदुत रामकृष्ण भट्टराईको नाम पारित गर्ने वा अस्वीकार गर्ने भन्ने निर्णय लिन बसेको बैठक आवश्यक सांसद्हरुको अनुपस्थितिले स्थगित भएको हो । यसअघि बाँकी १६ जना विभिन्न देशका लागि प्रश्तावित राजदुतको नाम अनुमोदन गरेपनि श्रीलंकाका लागि प्रश्तावित राजदुत भट्टराईको स्नातक तहको सर्टिफिकेट उपलब्ध नगराएको भन्दै नाम अनुमोदन गरिएको थिएन । यसअघि आइतबारका लागि बोलाइएको बैठक पनि स्थगित गरिएको थियो । 

नाम स्वीकृत÷अस्वीकृत गर्न समितिमा रहेका दुई तिहाई बहुमत सांसद्हरुको उपस्थिति अनिवार्य हुन्छ । आज बसेको बैठकमा समितिमा रहेका १५ सांसदमध्ये ८ जना मात्रै उपस्थित भएकाले निर्णय लिन नसकिएको समिति सभापति ईश्वरीदेवी न्यौपानेले बताइन् । दुई तिहाईका लागि समितिमा १० जना सदस्य अनिवार्य उपस्थिति हुनुपर्छ । उनले आजको बैठक स्थगित भएको र मंगलबार बिहान ९ बजे बस्ने जानकारी दिएकी छन् । 

सेयर बजार 

साताको दोस्रो दिन सेयर बजारमा सबै सूचक घटेका छन् । सोमबार नेप्से परिसूचक ५९ अंक घटेर २५२९ अंकमा कायम भएको छ । यस दिन कुल ५ अर्ब ६६ करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ । 

अघिल्लो दिन ५ अर्ब ९ करोडको भएको थियो । प्रिओपनमा बजार बढे पनि नियमित कारोबार सुरु भएपछि भने निरन्तर बजार ओरालो लाग्यो । १४ कम्पनीको मूल्य बढ्दा २२९ को घटेको छ भने एउटाको स्थिर रह्यो । हिमालयन हाइड्रोपावरको मूल्य ९।८ प्रतिशत बढ्यो । एक्सल डेभलपमेन्ट बैंकको ८।१, रावा इनर्जीको ५।३, नेपाल फाइनान्सको ५।१, मातृभूमि लघुवित्तको ५ प्रतिशत मूल्य बढ्यो । 

इजरायल

इजरायलले लेबनानमा रहेको हिजबुल्लाहको अखडामा आक्रमण गर्दा ५० जनाको मृत्यु भएको छ । इजरायलको आक्रमणबाट ३०० जनाभन्दा बढी लेबनानी घाइते भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायलले हिजबुल्लाह प्रभावित लेबनानको दक्षिण क्षेत्रमा व्यापक हवाई आक्रमण गरेको छ । 

जवाफमा हिजबुल्लाहले पनि उत्तरी इजरायलमा रकेट प्रहार गरेको छ । इजरायलले हिजबुल्लाह प्रभावित दक्षिण लेबनानका बासिन्दालाई सुरक्षित ठाउँमा जान आग्रह गरेको छ । इजरायलका अनुसार हालै हिजबुल्लाहले इजरायलमा १५० वटा रकेट प्रहार गरेको छ ।

नेपालको जीत

श्रीलंकालाई पराजित गर्दै नेपाली युवा टोलीले भुटानमा जारी साफ यू–१७ च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको छ । चाङलिमिथाङ रङ्गशालामा सोमबार भएको खेलमा नेपालले श्रीलंकामाथि ४–० फराकिलो जित निकालेको हो । नेपालको जितमा सुजन डंगोलले ह्याट्रिक गरे। विज्ञान खड्काले एक गोल गरे । जितसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ ।

पहिलो हाफको चौथो मिनेटमा नै सुजनको हेडर गोलमा नेपालले सुरुवाती अग्रता बनाएको थियो । खेलको १२ औँ मिनेटमा सुजनले व्यक्तीगत दोस्रो गोल गर्दा टोलीको अग्रता दोब्बर पारे । खेलको ३० औँ मिनेटमा सुजनले ह्याट्रिक पूरा गरे ।खेलको ८४ औं  मिनेटमा विज्ञानले गोल थप्दै नेपाललाई ४–० को फराकिलो अग्रता दिलाए। नेपाली युवा टोली पहिलो खेलमा पाकिस्तानसँग १–० ले पराजित भएको थियो । समूहमा बी मा रहेको नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार घरेलु टोली भुटानविरुद्ध खेल्नेछ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्