sevenstartv.com १६ असार २०८३, मङ्गलवार

आजका प्रमुख सात समाचार

६ असोज २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । 

छवि जोशी पक्राउ

सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी बन्जाडे पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा जोडिएका जोशीलाई जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा काठमाडौं प्रहरीले पक्राउ गरेको हो । सहकारीको रकम अपचलन बारे छानविन गर्न बनेको संसदीय विशेष समितिको प्रतिवेदन बुझेकै दिन प्रहरीले जोशीलाई पक्राउ गरेको हो ।

समितिले जोशीलाई पनि कानुनी दायरामा ल्याउन सिफारिस गरेको थियो । गृहमन्त्री रमेश लेखकले आइतबार नै प्रहरी प्रधान कार्यालय प्रतिवेदन पठाउँदै कानुनी दायरामा ल्याउन निर्देशन दिनुभएको थियउो । समितिले पूर्व गृहमन्त्री रवि लामिछानेलाई पनि कारबाहीको दायरामा ल्याउन सिफारिस गरेको छ । सूर्यदर्शन सहकारी ठगीको कसुरमा लामिछाने र पूर्वडीआईजी जोशीसहितविरुद्ध पूरक जाहेरी जिल्ला प्रहरी कार्यालय कास्कीमा दायर भएको थियो । 

गत माघ २४ गते जोशीको शंखमूलस्थित घरमा प्रहरीले छापा मारेको थियो । जोशीको घरबाट बरामद भएका चारवटा सर्भरमा जीबी भन्ने गितेन्द्र बाबु राई जोडिएका चारवटा सहकारीको १० अर्ब रुपैयाँभन्दा बढी कारोबारको विवरण प्रहरीले फेला पारेको थियो । पूर्वगृहमन्त्री रवि लामिछानेलाई पनि पक्राउ गर्ने तयारी गरिएको छ । अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यालय वरिपरि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

दुर्गा प्रसाईं

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई साइबर अपराधको मुद्दामा साइबर अपराध ब्यूरोले पक्राउ गरेको छ । विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि प्रहरीले भक्तपुरबाट प्रसाईंलाई पक्राउ गरेको हो । साइबर ब्यूरोबाट खटिएको टोली र भक्तपुर प्रहरीको सहयोगमा प्रसाईंलाई पक्राउ गरिएको साइबर ब्यूरोका डीआईजी नवीन्द अर्यालले जानकारी दिए । 

प्रसाईंलाई पक्राउ गर्न प्रहरी भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित उहाँको घरमै गएको थियो । घरको गेट नै नखोलेपछि कमाउण्ड नाघेर भित्र प्रवेश गरेर प्रहरीले नियन्त्रणमा लिएको हो । घरभित्र प्रसाईं र केही युट्युबर थिए । प्रसाईसहित रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायत पीडित महिलाले उनीहरुविरुद्ध साइबर व्युरोमा जाहेरी दिएका थिए । उनलाई म्याद थपका लागि अदालत लगिएको छ ।

शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाले देश समावेशी, समानुपातिकको आधारमा समाजलाई लैजाने दिशामा अघि बढिरहेको बताएका छन् । 
पार्टी कार्यालयमा भएको देश समावेशी समानुपातिक दिशामा अघि बढिरहेको र नेपाली कांग्रेसले यसको नेतृत्व गर्नुपर्ने बताएका हुन् । उनले समानुपातिक र प्रत्यक्ष निर्वाचनको सम्बन्धमा केही समस्या रहेको भएपनि समावेशी अति आवश्यक रहेको बताए । 

उनले देशमा समावेशी प्रणाली मात्रै नभइ समावेशी समाज रहेको बताएका छन् । समावेशितालाई अझ बढी पारदर्शी र उत्तरदायी बनाउनुपर्ने बताए । उनले अक्र बढी उत्तरदायी व्यवस्था बनाउनुपर्ने र त्यसका लागि उत्तरदायी पार्टीको आवश्यकता रहेको उल्लेख गरे । उनले जनता महत्वपूर्ण भएकाले कांग्रेसलाई अझ बढी जनताको पार्टी, उत्तरदायी पार्टी बनाउने काममा अहिलेदेखि नै लागे आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरे । 

बागमती सरकार

बागमती प्रदेश सरकारले नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा नेतृत्वको सरकारले भदौ २६ गते बुधबार मन्त्रिपरिषद् बैठकबाट नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम पारित गरेको थियो । सरकारले चालु आर्थिक वर्षको नीति र कार्यक्रम तथा बजेटले निर्धारण गरेका क्षेत्रहरुलाई विशेषरुपमा प्राथमिकतामा राखेका छन् । 

योजना तर्जुमा प्रणालीमा देखिएको दोहोरो, तेहोरोपना हटाउन संघीय र स्थानीय तहसँग समन्वयगरी योजना छनौट गर्ने परिपाटी मिलाइने तथा यसको लागि प्रदेश नीति तथा योजना आयोग मातहत बागमती प्रदेश योजना बैंक स्थापना गरिने बताइएको छ । अत्यावश्यक कानूनहरु निर्माण गर्ने, योजना तर्जुमा, प्रदेशको बोझिलो संरचनाहरुको अडिट गरी चुस्त र व्यवस्थित बनाउने, बेरुजुलाई नियन्त्रण र न्यूनीकरण गर्ने जस्ता बुँदाहरु पनि सरकारको न्युनतम साझा कार्यक्रममा समेटिएका छन् । 

तीनवर्ष मुनिका बालबालिका र ७५ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई निशुल्क स्वास्थ्य उपचार, मुटु, मिर्गौला र अर्बुद रोगको उपचारार्थ बिरामीलाई प्रदेश सरकारबाट १ लाख उपचार खर्च दिने जस्ता जनपक्षीय कार्यलाई निरन्तरता दिइने प्रतिवद्धता पनि जनाइएको छ । सरकारले चालु आर्थिक वर्षको नीति र कार्यक्रम तथा बजेटले निर्धारण गरेका क्षेत्रहरुलाई विशेषरुपमा प्राथमिकतामा राखेका छन् । ६७ बुँदे न्यूनतम साझा कार्यक्रममा प्रदेश प्रहरी ऐन, अनुसन्धान व्युरो स्थापना, निजामती कर्मचारी ऐन र भौतिक पूर्वाधारलाई विशेष प्राथमिकता दिइएको छ ।

इश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देशलाई सुरक्षित राख्नका लागि एउटा निर्णायक राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन् । 
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले शक्ति राष्ट्रहरुले देशको पहिचान मेटाउन भाषा, इतिहास, संस्कृति सिध्याउन लाग्ने गरेको भन्दै हाम्रो इतिहास, धर्म, संस्कृति र पहिचानको रक्षा गर्नुपर्ने बताएका हुन् । 

उनले पहिचान सकियो भने देश नै सकिने भन्दै पहिचानको रक्षा गर्नुपर्नेमा जोड दिए । यहाँले नेपालको पहिचानको रक्षाका निम्ति राजनीतिक क्षेत्रबाट मात्रै प्रतिवाद गरेर नपुग्ने भन्दै साहित्य र संस्कृतिबाट पनि प्रतिवाद गर्नु जरुरी रहेको बताएका छन् ।

श्रीलंका निर्वाचन

इतिहासमा पहिलो पटक श्रीलंकामा राष्ट्रपति निर्वाचनको दोस्रो चरणको मतगणना भइरहेको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक ५० प्रतिशतभन्दा बढी मत प्राप्त नगरेपछि निर्वाचन आयोगले दोस्रो चरणको मतगणना गर्ने भएको हो । श्रीलङ्काको निर्वाचन आयोगले अब दोस्रो र तेस्रो छनौटमा मतगणना गरेपछि नयाँ राष्ट्रपतिको टुंगो लाग्ने छ । आयोगका अनुसार अनुरा कुमारा दिसानायके र सजीथ प्रेमदासालाई छाडेर बाँकी उम्मेदवार दौडबाट बाहिर भएका छन् । निवर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे पनि राष्ट्रपतिको दौडबाट बाहिरिएका हुन् ।

 यद्यपि औपचारिक रुपमा कुन उम्मेदवारले कति मत पायो भनेर आयोगले सार्वजनिक गरेको छैन । वामपन्थी नेसनल पिपुल्स पावर गठबन्धनका उम्मेदवार अनुरा कुमारा दिसानायकेले शुरुदेखि अग्रता लिइरहेका छन् । धेरै सञ्चारमाध्यम र एक्जिट पोलले दिसानायकेले नै यो चुनाव जित्ने अनुमान गरेका छन् । श्रीलंकामा राष्ट्रपति निर्वाचित हुन कुल सदर मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्छ । यदि कुनै पनि उम्मेदवारले त्यो मत पाउन सकेनन् भने मतदाताले दोस्रो र तेस्रो छनोटका रुपमा दिएको मत गणना हुने व्यवस्था छ  ।

विश्वकप क्रिकेट

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ । खेल किङ्ग सिटीमा नेपाली समय अनुसार राति पौने ९ बजे शुरु हुनेछ । यो शृङ्खलाको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भयो । 

शृङ्खलामा नेपाल, ओमान र क्यानडा सहभागी छन् । यो शृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले असोज ८ गते ओमान खेल्नेछ । सन् २०२७ को विश्वकप छनोटको रूपमा रहेको लिग–२ मा आठ वटा टोलीको सहभागिता छ । तालिकामा नेपाल छ खेलमा दुई अङ्कसहित सातौँ स्थानमा छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्